देहिमाडौंलाई उपमेयर कप उपाधि



बैतडी ।

बैतडीको दशरथचन्द नगरपालिकामा आयोजित पाचौं संस्करणको उपमेयर कप टि ट्वान्टी महिला क्रिकेट प्रतियोगिताको उपाधि दनपा २ देहिमाडौंले जितेको छ । देहिमाडौंले साविक विजेता दनपा ६ थालिगडालाई ७९ रनले स्तब्ध पार्दै उपाधि हात पारेको हो । यो संगै देहिमाडौं उपमेयर कपमा तेस्रोपटक विजेता बन्यो । यसअघि दोस्रो र तेस्रो संस्करणको उपाधि जितेको थियो । देहिमाडौंले ४५ हजार र थालिगडाले ३० हजार नगद पुरस्कार प्राप्त गरे ।

देहिमाडौंले गत संस्करणको फाइनलमा हारेको बदलासमेत लिएको छ । गत वर्ष थालिगडाले देहिमाडौंलाई ९ विकेटले हराएर उपाधि जितेको थियो । शनिबार निंग्लाशैनी खेल मैदानमा सम्पन्न फाइनलमा देहिमाडौंले दिएको १ सय ४० रनको जवाफमा थालिगडा टिम १६.४ ओभरमा ६० रनमा समेटियो । टिमका लागि ललिता चन्दले २१ र पुजा कार्कीले १० रन बनाउनबाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् । देहिमाडौंका निर्मला कार्कीले ३ र बबिता बोहराले २ विकेट लिए ।

त्यसअघि, घरेलु मैदानमा पहिला ब्याटिंग गरेको देहिमाडौंले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ३९ रन बनायो । टिमका लागि पिंकी बोहराले नटआउट रहँदै ५९ रन बनाईन् । थालिगडाकी पुजा कार्की र सञ्जु पेलाले २/२ विकेट हात पारे । देहिमाडौंकी पिंकी बोहरा ‘वोमन अफ द फाइनल’ घोषित भइन् ।

यसैबीच प्रतियोगिताभर व्यक्तिगत १२ विकेट र ७० रन बनाएकी देहिमाडौंकी बविता बोहरा वोमन अफ द सिरिज भईन् । यस्तै, १ सय २४ रन जोडेकी देहिमाडौंकी मनिषा बोहरा बेस्ट ब्याटर र १२ विकेट लिएकी त्रिपुराकी जानबी मौनी बेस्ट बलर चुनिए ।

प्रतिक्रिया दिनुहोस्