दिपेश र रशिलालाई उपाधि



काठमाडौं ।

राष्ट्रिय च्याम्पियन नेपाल एपीएफका दीपेश धामी र त्रिभुवन आर्मीकी रशिला महर्जनले प्रथम राष्ट्रव्यापी भक्तपुर खुला ब्याडमिन्टन च्याम्पियनसिपको उपाधि उचालेका छन् । पुरुष एकलतर्फ राष्ट्रिय च्याम्पियन धामीले रिभाइभ लिजर पार्कका विश्व जुनियर नम्बर एक खेलाडी प्रिन्स दाहाललाई २१–१५, १२–२१, २१–१२ को अन्तरमा पराजित गर्दै उपाधि उचाले । तृतीय स्थानमा नेपाल पुलिसका जीवन आचार्य र विष्णु कटुवाल रहे ।

भक्तपुर जिल्ला ब्याडमिन्टन संघको आयोजनामा भएको च्याम्पियनसिपको महिला एकलतर्फ राष्ट्रिय च्याम्पियन रशिलाले उपाधी हात पारिन् । विश्व जुनियर युगल तर्फ उच्च ७ मा रहेकी उनले सेनाकै अनुमाया राईलाई २१–९, २१–१९ ले पराजित गरेकी हुन् । तृतीय स्थानमा सेनाकी अमिता गिरी र पुलिसकी निता लम्साल रहे ।

नेपाल ब्याडमिन्टन संघको तत्वावधानमा भएको च्याम्पियनसिपको पुरुष युगलतर्फ सेनाका प्रफुल महर्जन र रुकेश महर्जनको जोडीले बाजी मार्यो । उक्त जोडीले कास्कीका भुगोल गुरुङ्ग र विधान अधिकारीको जोडीलाई २१–१७, २१–१३ ले पराजित गरेको थियो । तेश्रो स्थानमा एपिएफका दीपेश धामी र विजित थापा मगर एवं १६ फिदरका क्षितिज खनाल र सुजन थापाको जोडी रहे ।

लिवालिस्थित कभर्डहलमा यु १५ छात्रा एकलतर्फ बेलटार ब्याडमिन्टन एकेडेमीकी रोजी राईले काठमाडौं ब्याडमिन्टन एकेडेमीकी एञ्जेल लिम्बूलाई २१–१४, २१–१४ को समान अन्तरले पराजित गर्दै स्वर्ण हात पारिन् । तेश्रो स्थानमा सेनाकी रोज पाण्डे र १६ फिदरकी रिहाना शेरचन रहे । सोही विधाको छात्र एकलतर्फ एनआरएनका शाहिल चन्द र सिल्क ग्रुपका कबिर के.सी. विच भएको प्रतिस्पर्धामा कबिरलेले बाजी मारे । उनले २१–१५, २१–१६ का जित निकालेका हुन् । तेश्रो स्थानमा कपिलवस्तुका रोहित बराल र अभय महरा रहे ।

करिब १६ लाख ८६ हजार ५ सय रुपैयाँ लागत रहेको च्याम्पियनसिपमा यु–१५ पुरुष/महिला सिंगल्समा शीर्ष स्थान हात पार्नेले क्रमशः १५ हजार, १० हजार र ७ हजार ५ सय नगद पुरस्कार प्राप्त गरे । पुरुष/महिला सिंगल्सका विजेताले ३५ हजार, उपविजेताले २० हजार र तेश्रोले १२ हजार ५ सयका दरले नगद पुरस्कार हात पारे । भेट्रान ४५ वर्षमाथि डबल्स र पुरुष डबल्समा पहिलो हुनेले ३० हजार, दोश्रोले १५ हजार र तेश्रोले ७ हजार ५ सय नगद पुरस्कार प्राप्त गरे ।

प्रतिक्रिया दिनुहोस्