उपाधिका लागि थालिगडा र देहिमाडौं भिड्ने



बैतडी ।

बैतडीको दशरथचन्द नगरपालिकामा जारी पाँचौं संस्करणको उपमेयर कप टी–ट्वान्टी महिला क्रिकेट उपाधिका लागि दनपा ६ थालिगडा र दनपा २ देहिमाडौं भिड्ने भएका छन् । बिहीबार सम्पन्न खेलमा दनपा ८ त्रिपुरालाई २८ रनले पराजित गर्दै थालिगडा फाइनलमा पुगेको हो । थालिगडाले दिएको १ सय ९ रनको लक्ष्य पन्छाएको त्रिपुरा १६.५ ओभरमा ८० रनमा सीमित रह्यो । जनुसा थापाले १५ र जाह्नवी मौनीले १० रन बनाउनबाहेक अन्य दोहोरो अंकमा रन बनाउन नसक्दा त्रिपुराको फाइनल खेल्ने सपना अधूरै रह्यो । थालिगडाकी दमन्ति ओडले ३ विकेट हात पारिन् ।

त्यसअघि, निंग्लाशैनी खेल मैदान पहिला ब्याटिंग गरेको थालिगडाले १९.२ ओभरमा अलआउट हुँदै १०८ रन बनायो । जसमा ललिता चन्दले सर्वाधिक ३१ रनको योगदान गरिन् । त्रिपुराकी जाह्नवी मौनी र हीरा भट्टले ३/३ विकेट लिइन् । खेलकी ‘वोमन अफ द म्यान’ थालिगडाकी दमन्ती ओड भएकी स्कोरर खेमराज भट्टले जानकारी दिए ।

यस्तै, अर्को सेमिफाइनलमा देहिमाडौंले दनपा ९ ग्वाल्लेकलाई ९ विकेटले हराउँदै उपाधिनजिक पुगेको छ । ग्वाल्लेकले दिएको ४५ रनको सामान्य लक्ष्य देहिमाडौंले ६ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो । जसमा बबिता बोहराले १३ र मनीषा बोहराले १० रनमा योगदान गरिन् । ग्वाल्लेककी मञ्जु जोशीले १ विकेट हात पारिन् ।

पहिला ब्याटिंग गरेको ग्वाल्लेक ९.४ ओभरमा ४४ रनमा समेटियो । उसका कुनै पनि ब्याट्सवोमनले दोहोरो अंकमा रन बनाउन नसक्दा सेमिफाइनलबाटै घर फर्किन बाध्य भयो । देहिमाडौंकी वसन्ती बोहराले ५ विकेट लिइन् । उपाधि भिडन्त आज हुनेछ ।

प्रतिक्रिया दिनुहोस्