नेपालगञ्जमा आजदेखि पीएम कप भलिबल



बाँके ।

नेपालगञ्जमा बिहीबारदेखि आठौं सगरमाथा सिमेन्ट प्रधानमन्त्री कप आमन्त्रण महिला भलिबल प्रतियोगिता हुने भएको छ । पीएम कपका संस्थापक अध्यक्ष टीएस ठकुरीले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए । नेपाल भलिबल संघको स्वीकृतिमा हुने प्रधानमन्त्री कप चैत १० देखि १४ गतेसम्म नेपालगञ्ज रंगशालास्थित कभर्डहलमा हुँदैछ । विगतका बर्षहरुमा भन्दा यसपटक कोरोना महामारीका कारण केही समय ढिला हुन गएको आयोजकले जनाएको छ ।

‘प्रधानमन्त्री कप भलिबल प्रतियोगितालाई नेपालगञ्ज (बाँके) को चिनारीको रुपमा विकास गर्ने हाम्रो प्रयास हो’ मूल आयोजक समिति संयोजक लुम्बिनी प्रदेश सदस्य कृष्णा केसी नमुनाले भनिन्, ‘दक्षिण एशियाकै नम्बर एक क्लब च्याम्पियनसीपका रुपमा प्रधानमन्त्री कपलाई स्थापित गराउने हाम्रो लक्ष्य रहेको छ ।’

प्रतियोगितामा आयोजक सहित नेपालका शीर्ष चार र भारतका दुई टिमको सहभागिता रहनेछ । लिगकम नकआउट प्रणालीमा सञ्चालन हुने यस प्रतियोगितामा नेपाल पुलिस क्लब, नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, न्यु डायमन्ड एकेडेमी, आयोजक लुम्बिनी युनाइटेड, भारतको छत्तीसगढ स्पोर्ट्स एकेडेमी (महाराष्ट्र) र हरियाना स्पोर्ट्स क्लब रहेका छन् ।

पहिलो दिन नेपाल पुलिस विरुद्ध त्रिभुवन आर्मी क्लबले खेल्नेछ भने अर्को खेल न्यु डायमन्ड एकेडेमीविरुद्ध आयोजक टिम लुम्बिनी युनाइटेड हुनेछ । नेपाली भलिबलको सर्वाधिक धनराशीको पुरस्कार रहेको प्रतियोगिताको विजेताले ५ लाख, उपविजेताले २ लाख ५० हजार, तेस्रो टिमले एक लाख र चौथो हुने टोलीले ५० हजार नगद, पदक र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रधानमन्त्रीकपको पहिलो संस्करणमा नेपाल पुलिस क्लब, दोस्रोमा एपीएफ, तेस्रो र चौथोमा रेलवे टिम इन्डिया, पाँचौंमा एपीएफ, छैटौंमा पुलिस र सातौंमा एपीएफ च्याम्पियन बनेका थिए ।

प्रतिक्रिया दिनुहोस्