मन्त्रीमण्डलमा हैसियतअनुसारको भाग चाहियो : प्रचण्ड



जनकपुरधाम, (नेस) ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले आफ्नो पार्टीको हैसियतअनुसार मन्त्रीमण्डलमा भाग माग गर्नुभएको छ । मधेश प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रममा सहभागी हुन जनकपुरधाम आइपुगेका अध्यक्ष प्रचण्ड विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्रिमण्डल हेरफेर भए हैसियतअनुसार पार्टीको सहभागिता माग गर्नुभएको हो । उहाँले मन्त्रीमण्डल हेरफेर हुने सम्भावना रहेको जानकारी समेत गराउनुभएको छ । अध्यक्ष प्रचण्डले यस विषयमा प्रधानमन्त्री देउवासँग कुराकानी भएको र उहाँ सहमतसमेत रहेको बताउनुभयो ।

‘मन्त्रिपरिषद्मा हेरफेरको कुरा चलेको छ । तर, अहिलेसम्म औपचारिक रूपमा टुङ्गिएको छैन । केही मन्त्रालय हेरफेर हुने सम्भावना छ, केही नयाँ आउने सम्भावना पनि छ’, उहाँले अगाडि भन्नुभयो– ‘मैले प्रधानमन्त्री देउवासँग भनिरहेको छु । गठबन्धनमा सबैभन्दा बढी त्याग माओवादी केन्द्रले गरेको छ । हामीले पाउनुपर्ने जति मन्त्रालय पाएको छैन । प्रधानमन्त्रीले उहाँको पार्टीको अधिवेशनसम्म सहयोग गर्न भनेका थिए । माधव जीले पनि मेरो पार्टी नयाँ छ, धेरै दुःख छ सहयोग गर्नु भनेका थिए । अब सहयोग गर्ने सबै काम माओवादी केन्द्रकै रहेको छ ।’

स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्न माओवादी केन्द्र तयार भए पनि कुन दलसँग गर्ने टुङ्गो नलागेको उहाँले बताउनुभयो । अध्यक्ष प्रचण्डले कांग्रेस लचिलो भएर आए गठबन्धन हुने बताउनुभयो ।

यसैबीच लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले तत्काल सरकारमा जाने विषयमा पार्टीमा निर्णय नभएको बताउनुभएको छ । लोसपा सरकारमा सामेल हुन लागेको चर्चाका बिच अध्यक्ष ठाकुरले अहिले सरकारमा जाने विषयमा आफूहरूले कुनै पनि प्रकारको निर्णय नगरेको स्पष्ट पार्नुभएको छ ।

लोकतान्त्रिक समाजवादी पार्टीको मधेश प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रमलाई उद्घाटन गर्दै ठाकुरले सरकारमा सामेल हुने विषयमा छलफल चलिरहेको स्वीकार गर्दै अहिले नै सरकारमा सामेल हुने विषयमा पार्टीभित्र निर्णय नभएको बताउनुभयो । वर्तमान सरकार आफूहरूको माग सम्बोधन गर्ने विषयमा लचकता अपनाउने प्रतिबद्धता व्यक्त नगरेसम्म सरकारमा सामेल हुने कुनै छाँटकाँट नरहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्