एम्बाप्पेको माओत्सेतुङ लक्षित भिडिओ विवादमा


लन्डन, (एजेन्सी) ।

फ्रान्सेली फुटबल स्टार किलियन एम्बाप्पे चीनका पूर्वनेता माओत्सेतुङलाई लक्षित गरिएको हुन सक्ने टिप्पणीसहितको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि ठूलो विवादमा तानिएका छन् ।

फ्रान्सेली टक शो ‘द ब्रिज’ मा भएको अन्तर्वार्ताका क्रममा उनले आफूलाई हँसाउने एउटा मिमबारे चर्चा गर्दै कुनै चिनियाँ तानाशाहको भिडिओ आफ्नो साथीहरूसँग सधैँ प्रयोग गर्ने बताएका थिए । यद्यपि, सार्वजनिक भएको भिडिओमा उनले माओको नाम स्पष्ट रूपमा नलिएकाले उक्त टिप्पणी उनैलाई लक्षित थियो भन्ने विषय पूर्ण रूपमा स्पष्ट भने छैन । अनलाइनमा फैलिएको उक्त क्लिपमा माओत्सेतुङजस्तो देखिने व्यक्तिको शरीरमा एम्बाप्पेको अनुहार जोडिएको तस्बिर देखिएको बताइएको छ र मुख्य भिडिओ युट्युबबाट हटाइए पनि त्यसका स्क्रिनसटहरू चिनियाँ सामाजिक सञ्जालमा तीब्र रूपमा फैलिएका थिए ।

रियल म्याड्रिडका फरवार्ड एम्बाप्पेको यो अभिव्यक्तिले चीनमा तीव्र आलोचना बढाएको छ भने यसै विवादका कारण चिनियाँ कम्पनीहरू मेङनिउ र डोङपेङले उनीसँगका व्यावसायिक सम्झौता तोडेको घोषणा गरेका छन् । दुग्ध उत्पादक मेङनिउ र इनर्जी ड्रिंक्स कम्पनी डोङपेङले चिनियाँ जनताको भावनामा चोट पु¥याउने अभिव्यक्ति वा व्यवहारप्रति आफूहरू असहिष्णु रहने धारणा सार्वजनिक गर्दै सम्झौता रद्द गरेका हुन् । यस घटनाले अन्तर्राष्ट्रिय खेलाडीहरूले विश्वव्यापी बजारमा आफ्नो सार्वजनिक अभिव्यक्तिको सम्भावित प्रभावलाई कति सावधानीपूर्वक सामना गर्नुपर्छ भन्ने गम्भीर बहससमेत जन्माएको छ ।

विवादले राजनीतिक रूपसमेत लिएपछि चीनको विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले सम्बन्धित रिपोर्टमा ध्यान दिएको बताउँदै चिनियाँ जनताको भावनामा चोट पु¥याउने अभिव्यक्ति र व्यवहारको विरोध हुनु स्वाभाविक भएको प्रतिक्रिया दिएका छन् । यसैबीच, चिनियाँ सरकारी टेलिभिजन प्रसारक सीसीटीभीले स्पेनिस ला लिगाका खेलहरूको प्रसारण रोक्ने तयारी गरेको तथा आफ्नो समाचार एपबाट एम्बाप्पेसम्बन्धी सामग्री हटाएको स्थानीय सञ्चारमाध्यम र द ग्लोबल टाइम्सले जनाएका छन् । यद्यपि, प्रसारण रोक्ने विषयको वास्तविक कार्यान्वयनलाई पुष्टि भएको स्थायी निर्णयका रूपमा भने बुझ्न सकिँदैन ।

यसअघि नै फुटबलमा उनको प्रभाव र क्लबको सञ्चालनमा हुने भूमिकालाई लिएर उनलाई ठट्टाका रूपमा ‘तानाशाह’ भन्ने गरिएको र इतिहासका वास्तविक तानाशाहसँग तुलना गर्नु असंवेदनशील हुने धारणा एम्बाप्पेले फ्रान्स फुटबलसँगको कुराकानीमा व्यक्त गरेका थिए, तर हाल उनैले तानाशाहसम्बन्धी मिमबारे गरेको टिप्पणी विवादको केन्द्र बनेको छ ।