सेना, प्रदेश १ र सुदूरपश्चिम विजयी



काठमाडौं ।

शिखर पुरुष गिरिजाप्रसाद कोइराला स्मृति तेस्रो राष्ट्रिय पुरुष हक्की प्रतियोगितामा विराटनगरमा शुरु भएको छ । मंगलबार विराटनगरस्थित सहिद रंगशालमा भएका खेलहरूमा नेपाली सेना, प्रदेश १ र सुदूरपश्चिम प्रदेश विजयी भएका छन् ।

प्रतियोगिताको पहिलो खेलमा नेपाली सेनाले बाग्मती प्रदेशलाई १४–० को फराकिलो गोलअन्तरमा पराजित गरेको छ । सेनाका रोमन रानाले ६ गोल, सुमितकुमार कामीले ५ गोल र राजेन्द्र कार्कीले २ गोल गरेका थिए । खेलको ‘म्यान अफ द म्याच’ सेनाका सुमितकुमार कामी भए ।

दोस्रो खेलमा प्रदेश १ ले मधेस प्रदेशलाई १–० गोलअन्तरमा पराजित गरेको छ । खेलको एक मात्र निर्णायक गोल प्रदेश १ का कृष्ण तामाङले गरे । खेलको ‘म्यान अफ द म्याच’ प्रदेश १ का नरेश थापा मगर भए ।

त्यसैगरी, तेस्रो खेलमा सुदूरपश्चिम प्रदेशले लुम्बिनी प्रदेशलाई २–० गोलमा पराजित गरेको छ । सुदूरपश्चिमका लागि दीपकराज जोशी र गणेश खगुनाले १–१ गोल गरे । चैत १२ गतेसम्म हुने प्रतियोगितामा विभागीय टोली नेपाली सेनाका साथै प्रदेश १, मधेस प्रदेश, बाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेताले नगद ५० हजार, उपविजेताले ३५ हजार र तेस्रो हुने टोलीले नगद १५ हजार रुपैयाँका साथै ट्रफी प्राप्त गर्नेछन् । ०७५ सालमा झापामा भएको पहिलो संस्करण गण्डकी प्रदेशले जितेको थियो भने ०७६ मा विराटनगरमा सम्पन्न दोस्रो संस्करणमा लुम्बिनी प्रदेशले गण्डकीलाई फाइनलमा टाइब्रेकरमा ५–३ गालेमा पराजित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्