रानीमहलमा महिला ‘बिच’ भलिबल हुने



पाल्पा ।

पाल्पाको ऐतिहासिक एवम पुरातात्विक स्थल रानीमहलमा यही चैत २४ देखि २६ गतेसम्म राष्ट्रिय महिला ‘बिच’ भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । पाल्पा स्थायी घर भई समाजका विभिन्न क्षेत्रमा प्रतिनिधित्व गर्ने व्यक्तिको समन्वय, सहयोग र अग्रसरतामा उक्त प्रतियोगिता आयोजना हुन लागेको हो । सञ्जय स्मृति मेमोरियल फाउन्डेसन आयोजक रहेको उक्त प्रतियोगितामा सात प्रदेशबाट एक–एक, तीन विभागीय र स्थानीयसहित दुई आमन्त्रित टोलीबीच प्रतिस्पर्धा हुने वताइएको छ ।

‘बिच’ भलिबल प्रतियोगिताको सद्भावना दूतमा राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाही र कलाकार धिरेन शाक्यलाई मनोनीत गरिएको आयोजकको भनाइ छ । दुवै जना पाल्पा निवासी हुन् । प्रतियोगिता आयोजनासँगै रानीमहललाई मुलुककै बिच भलिबलको ‘हव’का रूपमा विकास र विस्तार गर्ने सोच अघि सारिएको छ ।

‘बिच’ भलिबल समुद्र, नदी तथा खोला किनारमा बालुवामा खेलिने खेल हो । नेपालमा रहेका ६ हजारभन्दा बढी नदी र खोला किनारलाई बिच भलिबलको पूर्वाधार अर्थात् मैदानका रूपमा प्रयोग गर्ने सकिन्छ । युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले पाल्पाको रानीमहललाई बिच भलिबलको ‘हब’ बनाउन सकिने बताउनुभयो ।

प्रतियोगितामा पुरस्कारलगायत व्यवस्थापनका लागि रु ३० लाख खर्च लाग्ने अनुमान गरिको छ । मुलुकमा बिच भलिबलको विकास र विस्तार गर्ने सिलसिलामा खेलाडीलाई विगतमा वैदेशिक प्रशिक्षणमा पठाइएको र दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) मा नेपालले कास्य पदकसमेत जितेको इतिहास छ । यसअघि सन् २०११ मा चितवनमा राष्ट्रिय बिच भलिबल प्रतियोगिता आयोजना गरिएको थियो ।

आयोजक संस्थाकी अध्यक्ष एवं नेपाल भलिबल सङ्घकी उपाध्यक्ष निरोज मास्केले बिच भलिबलमा न्यून खर्चमा मुलुकले चाँडो अन्तर्राष्ट्रिय पदक प्राप्त गर्नसक्ने सम्भावना रहेको बताउनुभयो । प्रतियोगिताका लागि रानीमहलमा अन्तर्राष्ट्रिय मापदण्डको खेल मैदान र निर्णायक मण्डल रहने उहाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्