थालिगडा र ग्वाल्लेक सेमिफाइनलमा



बैतडी ।

बैतडीको दशरथचन्द नगरपालिकामा जारी पाचौं संस्करणको उपमेयर कप टी–ट्वान्टी महिला क्रिकेट प्रतियोगिताअन्र्तगत साविक विजेता दनपा ६ थालिगडा सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार सम्पन्न खेलमा दनपा ५ दशरथचन्दलाई ९ विकेटले पाखा लगाउँदै थालिगडा अन्तिम चारमा पुगेको हो ।

निंग्लाशैनी खेल मैदान देहिमाडौंमा दशरथचन्दले दिएको ४४ रनको सहज लक्ष्य थालिगडाले ६.३ ओभरमा १ विकेटको क्षतिमा पूरा गर्यो । जसमा दिव्या कार्की र दमयन्ती ओडले अविजित १३/१३ बनाईन् । दशरथचन्दकी निलम टमाटाले १ विकेट लिइन् ।

त्यसअघि, पहिला ब्याटिंग गरेको दशरथचन्द १६.३ ओभरमा ४३ रनमा अलआउट भयो । उसका कुनै पनि ब्याट्सओम्यानले दोहोरो अंकमा रन बनाउन नसक्दा प्रतियोगिताबाट बाहिरियो । थालिगडाकी पूजा कार्की र दमयन्ती ओडले २/२ विकेट हात पारिन् ।

यसैबीच, दनपा–९ ग्वाल्लेक पनि अन्तिम चारमा पुगेको छ । समूह ‘ए’ मा रहेका ग्वाल्लेक, थालिगडा र दशरथचन्दमध्ये सबै खेल हारेको दशरथचन्द बाहिरिदा एक खेल जितेको ग्वाल्लेक अन्तिम चारमा पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्