फुटबल र क्रिकेट उपाधि मकवानपुरलाई्



हेटौंडा ।

प्रदेश खेलकुद विकास परिषद् वागमती प्रदेशको आयोजनामा भएको प्रथम खेलकुद प्रतियोगिताअन्तर्गत् फुटबल र क्रिकेटको उपाधि मकवानपुरले हात पारेको छ । पुरुष फुटबल फाइनलमा ललितपुरलाई टाइब्रेकरमा ३–० गोलअन्तरले हराउँदै मकवानपुरले फुटबल उपाधि हात पारेको हो ।

खेलको पहिलो हाफको ४ मिनेटमा ललितपुरका बिक्की महर्जनले गोल गरेका थिए भने मकवानपुरको तर्फबाट ७ मिनेटमा ललित चौलागाईंले जवाफ फर्काएका थिए । ३६औं मिनेटमा मकवानपुरका समिरराज थोकरले थप १ गोल गरेका थिए ।

६४औं मिनेटमा ललितपुरका रोहित गिरीले गोल फर्काएका थिए । निर्धारित समयमा दुवै टिमले थप गोल गर्न नसकेपछि खेल टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकरमा मकवानपुरले ललितपुरलाई ३–० गोलअन्तरले हराएको थियो । विजेता मकवानपुरले १ लाख र उपविजेता ललितपुरले ८० हजार नगद प्राप्त गरे ।

त्यस्तै, चितवनको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पुरुष क्रिकेट फाइनलमा धादिङलाई २४ रनले पराजित गर्दै मकवानपुरले उपाधि जित्यो । मकवानपुरले २० ओभरमा ८ विकेट गुमाएर १ सय ५६ रन बनाएको थियो । मकवानपुरका रिजन ढकालले ४२ रन बनाए भने बलिङतर्फ धादिङका उज्ज्वल थापाले ३ विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्