खेलकुदप्रेमीले सम्झे शरद् शाहलाई



काठमाडौं ।

नेपाल खेलकुद पत्रकार मञ्चले वार्षिक रूपमा आयोजना गर्ने एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डमा राष्ट्रिय खेलकुद परिषद्का पूर्वसदस्य सचिव शरदचन्द्र शाहलाई मरणोपरान्त लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिएको छ ।

मंगलबार नेपाल खेलकुद पत्रकार मञ्चले गरेको बजाज पल्सर स्पोर्टस अवार्डको १८औं संस्करणमा शाहलाई उक्त अवार्ड प्रदान गरिएको हो । स्वर्गीय शाहकी छोरी मिहिका शाहले यो अवार्ड ग्रहण गरिन् । शाह २०३३ सालदेखि २०४५ सालसम्म राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिव रहनुभएको थियो । आधुनिक नेपाली खेलकुदको सुरुवातकर्ता मानिने शाहकै पहलमा दशरथ रंगशालाको स्तर उन्नतीसहित पाँचै विकास क्षेत्रमा रंगशाला निर्माण भएको थियो ।

गुणस्तरीय खेलकुदलाई सँगै अघि बढाउन महत्वपूर्ण भूमिका खेलेका शाह राखेपलाई अहिलेको संरचनामा ल्याउने मुख्य पात्र पनि हुनुहुन्छ । उहाँकै पालामा २०३८ सालमा नेपालमा पहिलोपटक राष्ट्रिय खेलकुद प्रतियोगिताको थालनी भएको थियो । दक्षिण एसियाली खेलकुद प्रतियोगिता आयोजना पनि उहाँकै परिकल्पना थियो, जसको पहिलो संस्करण नेपालमा नै आयोजना गरिएको थियो ।

२०४४ साल फागुन २९ मा दशरथ रंगशालामा जनकपुर चुरोट कारखाना र बंगलादेशको मुक्ति जोद्धा क्लबबीच फुटबलको त्रिभुवन च्यालेन्ज सिल्डको फाइनल चल्दै गर्दा हावाहुरीले भागदौड हुँदा ७३ जनाको मृत्यु भएको थियो । राखेपका तत्कालीन अध्यक्ष रहेका शिक्षामन्त्री केशरबहादुर विष्टले नैतिकताका आधारमा राजीनामा दिएका थिए । शाह सदस्य सचिव रहेको राखेप बोर्डलाई सरकारले पदमुक्त गराएको थियो । उहाँको विसं २०६९ असारमा ६६ वर्षेको उमेरमा थाइल्यान्डमा निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्