नेपालले पिएनजीलाई सात विकेटले हरायो


काठमाडौं ।

आइसिसी विश्वकप क्रिकेट लिग डिभिजन २ अन्तर्गत त्रिकोणात्मक शृंखलाको अन्तिम खेलमा नेपालले पपुवा न्यु गिनी (पिएनजी) लाई सात विकेटले पराजित गरेको छ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा एक सय ७४ रनको लक्ष्य नेपालले ३७ ओभरमा तीन विकेट गुमाएर पूरा गर्यो ।

नेपालको जितमा कुशल भुर्तेल र आरिफ शेखले अर्धशतकीय इनिङ खेले । ५० रन बनाएका कुशलले ६४ बलमा चार चौका र एक छक्का प्रहार गरे । यस्तै, ५९ रनमा अविजित रहेका आरिफले एक सय दुई बलमा चार चौका प्रहार गरे ।

यसबाहेक, नेपाली टोलीका खातामा रोहितकुमार पौडेलले अविजित ४४ रन थप्दा ओपनर आशिफ शेख दुई रनमा र दीपेन्द्रसिंह ऐरी सुन्यमै पभेलियन फर्किए । पिएनजीका चार्ल्स एमिनीले दुई विकेट लिँदा एलेइ नाओले एक विकेट लिइन् । यसअघि टस हारेर ब्याटिङमा आएको पिएनजीले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर एक सय ७३ रनको योगफल तयार गरेको थियो ।

पिएनजीका कप्तान असद भालाले सर्वाधिक ४५ रन बनाए । यस्तै, चाड सोपरले २२, लेगा सिएकाले २० र सेसे बाउले १९ रन बनाए । नेपालका कप्तान सन्दीप लामिछाने र सोमपाल कामीले समान दुई विकेट लिए । यसबाहेक, पवन सर्राफ, दीपेन्द्र, आरिफ र करणले एक एक विकेट लिए ।

डिभिजन २ मा १२ खेलबाट १२ अंक जोडेको नेपाल तालिकाको छैटौं स्थानमा छ । तालिकाको पुछारमा रहेको पिएनजीले १६ खेलबाट दुई अंकमात्र जोडेको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।