तेस्रो अन्तर्राष्ट्रिय उद्यमशीलता सम्मेलन हुने



काठमाडौं (नेस) ।

क्लक बी बिजनेस इनोभेसन्स र काठमाडौंस्थित भारतीय दूतावासको सहयोगमा बुधबार राजधानीमा तेस्रो अन्तर्राष्ट्रिय उद्यमशीलता सम्मेलन हुने भएको छ । उक्त सम्मेलनमा नेपाल भारतका उद्यमशीलतामा नव प्रवेशी व्यवसायी, उद्यमीहरू, महत्वाकांक्षी युवाहरू, विज्ञहरू, नेपाल भारतका उच्च सरकारी अधिकारीहरूको समेत सहभागिता रहने भएको छ ।

३ सयभन्दा बढी युवा व्यवसायीहरूको सहभागिता रहने सम्मेलनमा नेपाल भारतका १५ भन्दा बढी वक्ताहरूले उद्यमशीलताका बारेमा आ–आफ्नो विचार राख्ने आयोजक संस्थाका प्रतिनिधि विनय देवकोटाले जानकारी दिनुभयो ।

यस सम्मेलनअन्तर्गत चैत १ गते भएको आइडिया अडिसनबाट आफ्ना स्टार्ट अप व्यवसायलाई प्रस्तुत गरेका २० स्टार्ट अप व्यवसायमध्ये प्रतिस्पर्धाको आधारमा उत्कृष्ट ४ उद्यमी छनौट भएका थिए । छनौट भएका उत्कृष्ट ४उद्यमीहरूमा टेक्का, बोया फ्रेस, सारंग र वेद रहेका छन् ।

छनौट भएका उत्कृष्ट ४उद्यमीहरूले नेपाल र भारतका प्रख्यात उद्यमीहरूका सामु बुधबार आयोजना हुने फिनालेमा आफ्नो व्यावसायिक विचार लगानीका लागि प्रस्तुत गर्ने अवसर पाउने क्लक बीका बिजनेस डाइरेक्टर दिलराज जोशीले जानकारी दिनुभयो ।

सम्मेलन, दुई देशका युवा उद्यमीलाई उद्यमशीलता सम्मेलनमा आपसी छलफल, नयाँ– नयाँ आवधराणा विकास तथा विस्तार र अवसर खोजी गर्ने साझा प्लेटफर्म हुने भारतीय दूतावासका प्रथम सचिव अभिषेक उपाध्यायले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्