‘जातीय विभेद समुन्नत समाजको बाधक’



बुटवल ।

जातीय भेदभाव तथा छुवाछुत कायम रहेसम्म समुन्नत र न्यायपूर्ण समाज बन्न नसक्ने अधिकारकर्मीहरुले औंल्याएका छन् । ५७औं जाति तथा रंगभेद उन्मूलन दिवसका अवसरमा सोमबार बुटवलमा आयोजित अन्तरसंवाद कार्यक्रममा बोल्ने क्रममा अधिकारकर्मीहरुले यस्तो बताएको हुन् ।

मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय सभापति गोविन्द खनालले विभेदरहित समाजमा मात्रै शान्ति कायम हुने बताउनुभएको छ । शान्ति र सम्मुन्नतिका लागि सामाजिक न्यायको प्रत्याभूति विषयक अन्तरसंवादलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

विभेदका घटना राज्यपक्षले नै लुकाउन खोजेको भन्दै खनालले भननुभयो– ‘छुवाछुत अमानवीय र अपराधिक कार्य हो ।’ गैरदलित समुदायले आफ्नो व्यक्तिगत अधिकारका नाममा कथित दलित समुदायमाथि अपराध गरेको उहाँको आरोप छ ।

कार्यक्रममा अधिवक्ता पदम कार्कीले कानुनी रूपमा नेपाल विभेदरहित देशका रूपमा चिनिए पनि व्यावहारिक रूपमा विभेद अन्त्य नहुनु मानवताकै लागि लज्जित विषय भएको बताउनुभयो । उहाँले बुटवललाई २०५८ सालमै छुवाछुतमुक्त नगरका रूपमा घोषणा गरिए पनि विभेद अन्त्य नभएकाले अब मानवताको सुन्दर बुटवल बनाउने संकल्प गर्ने दिन आएको धारणा राख्नुभएको थियो ।

त्यस्तै, इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक ठगबहादुर केसीले जातका आधारमा गरिने विभेदलाई संवेदशील मुद्दाका रूपमा लिएको बताउँदै विभेद गर्नेलाई उमुक्ति नहुने बताउनुभयो । उहाँले आफू रुकुम पश्चिममा हुँदा पनि नवराज विकसहितका ६ जनाको मृत्युको घटनामा संवेदशील मुद्दाका रूपमा अघि बढाएको बताउनुभयो ।

त्यसै गरी, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेलले विभेदका मुद्दालाई नेपालका सञ्चारमाध्यमको प्राथमिकतामा राख्ने गरेको बताउनुभयो । लेखक तथा साहित्यकार ऋषि आजादले जातीय भेदभाव अन्त्यका लागि गैरदलित समुदायले नै पहल गर्नुपर्ने बताउनुभएको थियो ।

कार्यक्रममा उपभोक्ता हित संरक्षण मञ्च बुटवलका अध्यक्ष समुन्द्र जिसी, दलित महिला संघ रूपन्देहीका अध्यक्ष मनु खड्का, अधिकारकर्मी सरोज गौतम, पत्रकार कपिल ज्ञवाली, अभियान्ता प्रकाश भट्टराई, कान्ति परियारलगायतले कार्यक्रममा मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्