फरार आरोपित म्याग्दीबाट पक्राउ



सर्लाही, (नेस) ।

सर्लाहीका व्यवसायी अर्जुन रायमाझीलाई गोली हान्न साफसुटर प्रयोग गरेको आरोपमा फरार रहेका वागमती नगरपालिका लेखा अधिकृत विश्वराज पोखरेल म्याग्दीबाट पक्राउ परेका छन् । भारतीय साफसुटर लगाएर व्यवसायी रायमाझीको हत्या गर्ने योजना बनाएका पोखरेल तीन महिनादेखि फरार थिए ।

उनलाई पक्राउ गर्न जिल्ला अदालत सर्लाहीबाट गत पुस २२ गते पक्राउ पुर्जी जारी भएको थियो । पक्राउ पुर्जी जारी गरेको तीन महिनासम्म पनि फरार पोखरेललाई प्रहरीले पक्राउ गर्न नसकेपछि व्यवसायी रायमाझी आफैंले म्याग्दी र मुस्ताङको सीमाना नजिकबाट पक्राउ गरेर म्याग्दी प्रहरीलाई बुझाएका हुन् । पोखरेललाई पक्राउ गरेर म्याग्दी प्रहरीलाई बुझाएलगत्तै उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीमा ल्याएको थियोे । कास्की प्रहरीले पोखरेललाई नियन्त्रणमा लिएर सामबार बिहान सर्लाही प्रहरीलाई बुझाएको रायमाझीले बताउनुभयो ।

पोखरेललाई सोमबार जिल्ला अदालत सर्लाहीबाट म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको सर्लाही प्रहरीले जानकारी दिएको छ । सर्लाहीको हरिवन घर भएका ५० वर्षीय पोखरेलले आफूलाई गोली हान्न हरिवनसम्मै तीन जना भारतीय साफसुटर ल्याएको भन्दै व्यवसायी रायमाझीले जिल्ला प्रहरी कार्यालय सर्लाहीमा किटानी जाहेरी दिएका थिए ।
म्याग्दीमा भाडाको जिपमा हिँड्दै गरेका पोखरेललाई पक्राउ गरी प्रहरीलाई बुझाएको रायमाझीले दाबी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्