सल्यानमा सबैभन्दा ठूलो शंख निर्माण



सल्यान ।

सल्यानमा नेपालकै सबैभन्दा ठूलो आकृतिको शंखक निर्माण गरिएको छ । छत्रेश्वरी गाउँपालिका–६ शंखमूलमा धार्मिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले नेपालको सबैभन्दा ठूलो शंख निर्माण गरिएको हो ।

छत्रेश्वरी गाउँपालिकाले करिब १ करोड ६० लाखमा बनाइएको यस पार्कमा निर्मित शंखको प्रतिमा नेपालकै ठूलो रहेको दाबी गरिएको छ । शंखपार्कको नेपाली कांग्रेसका प्रवक्ता तथा पूर्वपरराष्ट्रमन्त्री प्रकाशशरण महतले एक समारोहकाबीच उद्घाटन गर्नुभएको थियो । नेपालकै ठूलो भनिएको शंखसँगै पार्कमा शिव–पार्वतीको मूर्ति, पानीको फोहोरा, पौराणिक कालको झल्को दिने झुपडी, चौतारा, शौचालयलगायतका पूर्वाधार निर्माण गरिएको छ । शंखमूल पार्क राप्ती लोकमार्गदेखि करिव ४ सय मिटर जति उत्तर पश्चिममा अवस्थित छ । यो चर्चित धार्मिकस्थल हो ।

शंखमूलमा रहेको कुण्डमा महादेव नुहाएर कैलाश जाँदा कुण्डमा नै शंख बिर्सेका कारण उक्त कुण्डको नाम शंखमूल रहन गएको धार्मिक विश्वास रहेको छ । ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको शंखमूललाई थप संरक्षण तथा प्रवद्र्धन गर्न नेपालकै ठूलो शंख निर्माण गरिएको गाउँपालिका अध्यक्ष सन्तोष केसीले बताउनुभएको छ । पार्कमा आउने पर्यटकका लागि वाइफाई फ्री गरिएको उहाँको कथन छ ।

पार्कले धार्मिक आस्थालाई जीवन्त बनाएको शंखपार्क धार्मिक क्षेत्र विकास समाजका अध्यक्ष तपेन्द्रमान श्रेष्ठले बताउनुभयो । शंखपार्क स्थापना भएपछि पछिल्लो समय पर्यटकको आउने गरेका छन् भने टिकटक बनाउन आउनेहरुको पनि भीड लाग्ने गरेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्