करातेमा सुमिता र रिहानलाई स्वर्ण



नुवाकोटकी सुमिता तामाङ र काठमाडौंका रिहान जाबेदले प्रथम बागमती प्रदेश खेलकुदअन्तर्गत करातेको एकल कातामा स्वर्ण जितेका छन् । महिलातर्फ सुमिताले चितवानकी परजिस्मा श्रेष्ठलाई पराजित गदै स्वर्ण जितिन् । एकल कातामै काठमाडौं सञ्जु देसार र काभ्रेकी मीना बोलन तेश्रो भए । त्यस्तै पुरुष एकल कातामा रिहानले सिन्धुपाल्चोकका राजकुमार श्रेष्ठलाई हराएका थिए भने भक्तपुरका शिरिष श्रेष्ठ र रामेछापका शरण सुनुवारले तेश्रो स्थानमा चित्त बुझाउनुपर्यो ।

चौताराको आहाल डाँडा छापस्थित सेमिकभर्ड हलमा भएको महिला तथा पुरुषतर्फको टिम कातामा काठमाडौं जिल्लाले बाजी मार्यो । महिलातर्फ निता आचार्य, सञ्जु देसार र मुना शाक्यको कुशलतापूर्वक काता प्रदर्शनले उपाधि जित्न सफल भए । पुरुषतर्फ मनिस कार्की, राजकुमार कार्की र अमृत ठाकुरको टिमले स्वर्ण जिते । दुवै समूहमा रामेछाप रजत जित्न सफल भयो ।

महिला टिम कातामा भक्तपुर र सिन्धुली तेश्रो भए भने पुरुष टिम कातामा सिन्धुली र चितवान तेश्रो भएका छन् । कुमुतेको महिला ४५ केजीमा चितवनकी बुद्ध लक्ष्मी तामाङ र नुवाकोटका पुप्पका लामा फाइनलमा प्रवेश गरेका छन् । सोही तौल समूहमा ललितपुरकी सलिना पहरी र काभ्रेका हर्षा श्रेष्ठ तेश्रो भएका छन् ।

पुरुष ५५ केजी तौल समूहमा सिन्धुपाल्चोकका वाङचुक शेर्पा र रामेधापका विसाल केसी फाइनलमा प्रवेश गरेका छन् । सोही समूहमा काम्रेका खेलकुमार धलान र दोलखाका खेवराज श्रेष्ठ तेश्रो भए ।

बागमती प्रदेशका १३ जिल्लाका सहभागिता रहेको प्रतियोगिताको स्थानीय चौतारा साँगा चोकगढी नपाका प्रमुख अमानसिंह तामाङले उद्घाटन गरेका थिए । सो अवसरमा सिन्धुपाल्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी वेदनिधि खनाल, प्रहरी प्रमुख राजन अधिकारी, बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्रालय खेलकुद महाशाखा प्रमुख देवनारायण चौधरी, सिन्धुपाल्चोक जिल्ला खेलकुद विकास समितिका प्रमुख गिर्मी लामालगायतको उपस्थिति रहेको थियो । प्रतियोगिता ९ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्