दिनेश र रूबिका च्याम्पियन



काठमाडौं ।

नेपाल आर्मीका दिनेश बुढा मगर र बाग्मती प्रदेशकी रूबिका खड्का जिपी कोइराला स्मृति प्रोफेसनल आईटीएफ तेक्वान्दो च्याम्पियनसिपमा आइतबार च्याम्पियन बनेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा भएको पुरुष ५५–६३ केजी फाइनलमा दिनेशले आफ्नै विभागका प्रमोद साहुलाई पराजित गरे । आर्मीकै प्रेम मगर तेश्रो भए । सेमिफाइनलमा दिनेशले बाग्मतीका निर्मल तामाङ तथा प्रमोदले आर्मीका प्रेम मगरलाई हराउँदै उपाधि भिडन्त पक्का गरेका हुन् ।

नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ (एनआईटीएफ) को सहकार्यमा गिरिजाप्रसाद कोइराला फाउन्डेसनले आयोजना गरेको प्रतियोगिताको महिला ४७–५५ केजी उपाधि भिडन्तमा रूबिकाले आर्मीकी हिमा खड्कालाई पाखा लगाइन् । लुम्बिनी प्रदेशकी तेरिया सापकोटाले तेश्रो स्थानमा चित्त बुझाइन् । फाइनल यात्रा तय गर्न रूबिकाले एपीएफकी सन्चिता तामाङ तथा हिमाले लुम्बिनीकी तेरियालाई सेमिफाइनलमा पन्छाएका थिए ।

पुरूष÷महिला दुवैमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ५ सय, ३ सय र २ सयका दरले अमेरिकी डलर पुरस्कारसहित गिफ्ट ह्याम्पर पाए ।

प्रतिक्रिया दिनुहोस्