झापामा आर्चरी खेलाडी उत्पादन गरिने



भद्रपुर ।

नेपालमा लोप हुँदै गएको धनुष वाण यानि आर्चरी खेल जोगाइराख्नका लागि झापामा खेलाडी उत्पादन गरिने भएको छ । झापा जिल्ला आर्चरी सङ्घले यही चैत्र ११ देखी तीन दिनसम्म चन्द्रगढीस्थित मेची रङ्गशालामा खेलसम्बन्धी तालिमको आयोजना गरिने आइतबार पत्रकार सम्मेलनमा जानकारी गराएको हो । नेपालमा २०४४ सालमा दर्ता भए पनि खेलको शुरूवाति भने २०६२ सालबाट भएको आर्चरी सङ्घका केन्द्रीय अध्यक्ष दीपकराज गुरूङले बताए ।

रियो ओलम्पिक २०१६ मा नेपालबाट मकवानपुरका जीतबहादुर मोक्तानले भाग लिएका थिए । उनको लागि कुनै पुर्व तयारी नपुगेका कारण सफल हुन नसकेको गुरूङले बताए । खेलको वारेमा पुर्ण जानकार नहुँदा खेलाडीमा विचलन आई खेलाडी नै पलायन भएका कारण यो खेल ओझेलमा परे पनि अब नेपालभर सक्रिय गराइने उनको भनाइ रहेको छ । प्रशिक्षक समेत रहेका गुरुङले हाल नेपालका १७ जिल्लामा यो खेल फैलिएकोमा अन्य जिल्लामा पनि फैलाउनुपर्ने जनाएका थिए ।

तीनदिने तालिममा जिल्लाका सवै पालिकालाई जानकारी गराई भव्यरूपमा खेलको चर्चा परिचर्चा गरिनेछ । शुरूवातिमा १० मिटरको दूरीबाट तीर हान्ने र पछि ७० मिटरसम्म पुर्याइनेछ । नेपाल बाहिर भारत, वङगलादेश, चीन, कोरियालगायतका देशहरूमा यो खेल परिचित भएको सङ्घले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्