उपमेयर कपमा देहिमाडौं र नागार्जुन विजयी



बैतडी ।

बैतडीको दशरथचन्द नगरपालिकामा जारी पाचौं उपमेयर कप टि–ट्वान्टी महिला क्रिकेट प्रतियोगितामा दनपा २ देहिमाडौं र दनपा ११ नागार्जुन विजयी भएका छन् । देहिमाडौंले पहिलो खेलमा दनपा ८ त्रिपुरालाई ६ विकेटले पराजित गर्यो । त्रिपुराले दिएको ६० रनको लक्ष्य देहिमाडौंले ९ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो । टिमको लागि ‘प्लेयर अफ द म्याच’ बनेकी बविता बोहरा १७ रनमा नटआउट रहिन् भने आरती बोहराले १० रन बनाइन् । त्रिपुराका लागि करिस्मा थापाले २ विकेट हात पारिन् ।

त्यसअघि, निंग्लाशैनी खेल मैदान देहिमाडौंमा पहिला ब्याटिंग गरेको त्रिपुरा ११.४ ओभरमा ५९ रनमा अलआउट भयो । टिमका सिन्दु भट्टले १६ र मनीषा चन्दले १३ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् । त्रिपुराको पारी ध्वस्त पार्ने क्रममा वसन्ती बोहराले ४ र बविता बोहराले ३ विकेट हात पारे ।

यस्तै, अर्को खेलमा दनपा ४ खलंगालाई १८ रनले पराजित गर्दै नागार्जुनले सुखद शुरूआत गरेको छ । नागार्जुनले दिएको १ सय ५७ रनको लक्ष्य पाएको खलंगाले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ३८ रन मात्रै बनाउन सक्यो । टिमका सम्झना गुरूङ्गले ३६ र कप्तान निशा भट्टले ३२ रनको योगदान गरेपनि हार टार्न सकेनन् । नागार्जुनका लागि कमला पुजाराले ३ विकेट लिइन् ।

पहिला ब्याटिंग गरेको नागार्जुनले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ५६ रन बनायो । टिमकी निर्मला भण्डारीले जारी प्रतियोगिताकै पहिलो अर्धसतक बनाउ“दै ७१ रनमा नटआउट रहिन् । उनी ‘प्लेयर अफ द म्याच’ समेत घोषित भइन् ।

प्रतिक्रिया दिनुहोस्