हुन्डाई ओपनमा पुनलाई उपाधि



काठमाडौं ।

कृष्ण पुनले हुन्डाइ ओपन गल्फ प्रतियोगिताको उपाधि शनिबार जितेका छन् । पुनले गोकर्ण गल्फ क्लबमा भएको कर्पोरेट प्रतियोगिताअन्तर्गत ११ ह्यान्डीक्यापमा ४३ अंक जुटाएर उपाधि जितेका हुन् । दोस्रो स्थानमा बाबु पौडेल रहे । प्रतियोगितामा टाशी डोङ, टाशी छिरिङ र वान्गचेन धोन्दुपबीच उत्कृष्ट ग्रसतर्फ ३६ अंक जोडेर टाइ भएको थियो ।

टाशी डोङले काउन्ट ब्याकमा १९ अंक जोडेको आधारमा उपाधि जिते । हुन्डाइ कार विजेताको विधातर्फ श्याम सिम्खडाले ३७ अंक जोडेर कार हात पारे । वांगचेनले क्लोजेस्ट टू द पिन, दावा जे शेर्पाले लंगेस्ट टू द ड्राइभ तथा क्याप्टेन नोर्बु शेर्पाले सर्वाधिक बर्डीको पुरस्कार प्राप्त गरे ।

लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिद्वारा प्रायोजित गरिएको प्रतियोगितामा १ सय ५५ गल्फरले सहभागिता जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्