श्रीजन र नीरजबीच प्रतिस्पर्धा हुने



काठमाडौं ।

कर्णाली प्रदेशका श्रीजन हमाल र सुदूरपश्चिम प्रदेशका नीरज तिररुवा जिपी कोइराला प्रोफेसनल आइटीएफ तेक्वान्दो च्याम्पियनसिपको दोस्रो चरणमा भिड्ने भएका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा शनिबारदेखि शुरु भएको प्रतियोगितामा श्रीजनले प्रदेश–१ का हीराधन राई र नीरजले मधेश प्रदेशका विकास साहलाई हराउँदै दोस्रो चरणमा एकअर्का बीचको भिडन्त तय गरेका हुन् ।

गिरिजाप्रसाद कोइराला फाउन्डेसनको आयोजना र नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो (आइटीएफ) महासंघको सहकार्यमा जारी च्याम्पियनसिपमा महिलातर्पm ४७–५५ केजी तौलसमूह र पुरुषमा ५५–६३ केजी तौलसमूहमा गरी कुल दुई स्वर्णका लागि प्रतिस्पर्धा भइरहेको छ ।

पुरुषमा पहिलो दिन १६ खेलाडीले दोस्रो चरणको यात्रा तय गरे । शनिबार नै राखेपमा आयोजित एक कार्यक्रमबीच नेपाली कांग्रेसकी नेतृ एवम् पूर्वउपप्रधानमन्त्री सुजता कोइराला, बाग्मती प्रदेशकी स्वास्थ्य राज्यमन्त्री कल्पना नेपाली, प्रतिनिधिसभा सांसद मानबहादुर विश्वकर्मा र नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो (आइटिएफ) महासंघका अध्यक्ष अञ्जन धमलालगायतले उद्घाटन गरेका थिए ।

गिरिजाप्रसाद कोइरालाको १२औं स्मृति दिवसका अवसरमा प्रोफेसनल आइटिएफ तेक्वान्दो च्याम्पियनसिप गरिएको हो । विजेता शीर्ष तीन खेलाडीले क्रमशः पाँच सय, तीन सय र दुई सय अमेरिकी डलर पुरस्कारका साथै पदक प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्