मकवानपुर र धादिङ सेमिफाइनलमा



हेटौंडा, (नेस) ।

प्रदेश खेलकुद विकास परिषद् वागमतीको आयोजनामा भएको प्रथम खेलकुद प्रतियोगिताको पुरुष फुटबलतर्फ धादिङ र मकवानपुर विजयी भएका छन् । हेटौंडाको क्याम्पा रंगशालामा पहिलो खेल धादिङ र काभ्रेबीच भएको थियो । १–० गोलअन्तरले धादिङ विजयी भएको हो । खेलको २४ औं मिनेटमा विपिन कँडेलले गरेको गोल नै निर्णायक गोल बन्न पुग्यो । धादिङ सेमिफाइनल प्रवेश गरेको छ ।

घरेलु मैदानमा सिन्धुलीलाई हराउँदै मकवानपुर पनि सेमिफाइनल प्रवेश गरेको छ । क्वार्टरफाइनलको १८ औं मिनेटमा ललित चौलागाईंले पहिलो गोल गरेका थिए । ४७औं मिनेटमा सुनील घलानले मकवानपुरका लागि दोस्रो गोल थपेका थिए । मकवानपुरका लागि ७४औं मिनेटमा समिरराज थोकरले गोल थप गरेपछि ३–० ले मकवानपुर विजयी भएको हो । बिहीबार दुई खेल हुनेछन् । पहिलो खेल ललितपुर र रामेछापबीच हुनेछ भने दोस्रो खेल दोलखा र भक्तपुरबीच हुनेछ ।

चितवनको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा पुरूषतर्फ क्रिकेट शुरू भएको छ । प्रतियोगिताको पहिलो खेल रामेछाप र नुवाकोटबीच भएको थियो । टस जितेर ब्याटिङ रोजेको नुवाकोटले २ विकेट गुमाएर रामेछापलाई २ सय ५६ रनको लक्ष्य दिएको थियो । रामेछाप १५ ओभरमा सबै विकेट गुमाउँदै ६६ रनमा सीमित भएको थियो ।

दोस्रो खेलमा रसुवाले टस जितेर ब्याटिङ रोजेर १३ ओभरमा पूरै विकेट गुमाउँदै ५१ रन बनाएको थियो । धादिङले ५ ओभरमै एक विकेट गुमाएर लक्ष्य हासिल गर्दै अघिल्लो चरण प्रवेश गरेकोछ । बिहीबार दुई खेल हुनेछन् । पहिलो खेल ललितपुर र दोलखा तथा दोस्रो खेल सिन्धुपाल्चोक र काभ्रेबीच हुनेछ ।

चितवनको माडी खेलमैदानमा भएको महिला भलिबलतर्फ चितवन र रामेछाप फाइनल प्रवेश गरेका छन् । सिन्धुलीलाई २५–१०, १५–२५, २५–१४ र २५–२० ले हराउ“दै रामेछाप फाइनल प्रवेश गरेको हो । चितवनले दोलखालाई सोझो सेटमा हराएको छ । चितवनले दोलखालाई २५–१२, २५–९ र २५–८ ले हराएको हो ।

प्रतिक्रिया दिनुहोस्