मेयर कपमा खलंगा च्याम्पियन



बैतडी ।

बैतडीको दशरथचन्द नगरपालिकामा आयोजित पाँचौं संस्करणको मेयर कप क्रिकेट प्रतियोगिताको उपाधि दनपा ४ खलंगाले हात पारेको छ । बुधबार सम्पन्न फाइनल खेलमा दनपा–५ दशरथचन्दलाई ५ विकेटले स्तब्ध पार्दै खलंगाले उपाधि हात पारेको हो । गत संस्करणको फाइनलमा पनि यी दुवै टिमले भिडन्त गरेका थिए र उपाधि पनि खलंगाले नै जितेको थियो । उपाधिसँगै खलंगाले ७५ हजार रकम पुरस्कार पायो भने उपविजेता दशरथचन्दले ५० हजारमा चित्त बुझायो ।

दशरथचन्दले दिएको ८८ रनको सामान्य लक्ष्य खलंगाले १०.४ ओभरमा ५ विकेट गुमाएर पुरा गरेको थियो । जसमा हरिश कार्कीले सर्वाधिक अविजित ५२ रनको पारी खेले । दशरथचन्दका सुमन रावलले ३ विकेट लिए । त्यसअघि, निंग्लाशैनी खेल मैदान देहिमाडौंमा पहिला ब्याटिंग गरेको दशरथचन्द १६.१ ओभरमा ८७ रनमा समेटियो ।

आकाश रावलले १७, सुमन रावलले १४ र जगदीश चन्दले १३ रन बनाउनेबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न नसक्दा दशरथचन्दको उपाधि जित्ने सपना चकनाचुर भयो । दशरथचन्दको पारी ध्वस्त पार्ने क्रममा खलंगाका गोविन्द नाथ, प्रदीप चन्द र हरिश कार्कीले ३/३ विकेट हासिल गरे ।

म्यान अफ द फाइनल खलंगाका हरिश चुनिए । सर्वोत्कृष्ट खेलाडी र बेस्ट ब्यास्टसम्यान खलंगाका प्रदीप चन्द चुनिए । उनले प्रतियोगिताभर व्यक्तिगत १ सय ९३ रन र ७ विकेट हात पारेका थिए । यस्तै, प्रतियोगिताभर १० विकेट हात पारेका ग्वाल्लेकका दीपक जोशी बेस्ट बलर भए ।

प्रतिक्रिया दिनुहोस्