हमाल अब नायकबाट गायक (भिडियोसहित)



ख्यातिप्राप्त अभिनेता राजेश हमाल नायकबाट गायक बनेका छन्। केही समयअघि एउटा गीतका लागि केही लाइन गाएका हमालले यसपटक सिँगै गीत गाएका छन्। व्यावसायिक गायकको शैलीमा हमालले गाएको गीत गाउँले ठिटो हालै राजधानीमा आयोजित एक समारोहबीच भिडियोसहित सार्वजनिक गरिएको छ।

हमालले आफू गायक नभई नायक नै भएको र गायन केवल प्रयास मात्रै रहेको कार्यक्रममा बताए। ‘स्कुलमा मेरो म्युजिक टिचर नै वरिष्ठ संगीतकार गोपाल योञ्जन हुनुहुन्थ्यो। ६ कक्षा पढ्ने बेलासम्म उहाँले अगाडि बोलाएर गाउन लगाउनुहुन्थ्यो। १० कक्षा पुग्ने बेलामा चाहिँ खै के भयो, मलाई आफ्नो स्वर नराम्रो जस्तो लाग्यो। त्यसपछि कहिल्यै गाउने कोशिस नै गरिनँ। अहिले आएर भने गीत गाउने प्रयास गरेको हुँ’ हमालको भनाइ थियो।

कार्यक्रममा हमाल पत्नी मधु भट्टरार्ईले हमालको गायन क्षमता यति धेरै राम्रो छ भनेर आफूलाई पहिले थाहा नभएको र गीत गाउन आफुले प्रेरित गरेको सुनाइन्। गोविन्द भट्टको शब्द रचना र सन्तोष श्रेष्ठको संगीत रहेको गीतको भिडियो निर्देशन देवेन्द्र पाण्डेले गरेका छन्। रोजगारीको लागि विदेशिएको युवा आफ्नै गाउँ फर्केर कृषि कर्म गरी सफल भई उदाहरणीय व्यक्ति बनेको कथा बुनिएको भिडियोमा अभिनेता हमाल गाउँले रूपमा देखिएका छन्। भिडियोमा हमालको साथमा उत्तम केसी, गोविन्द भट्ट, एसके दाहाललगायतले अभिनय गरेका छन् भने उत्सव दाहालको छायांकन र विकास दाहालको सम्पादन रहेको छ।

हमालले यो गीतको भिडियो आफूले अभिनय गरिरहेका अन्य म्युजिक भिडियो जस्तो नभएको र तीन महिनाको मेहनतपछि तयार भएको प्रष्ट पारे। ‘मेरो जीवनमा हलो जोतेको अनुभव नै त छैन, तर मैले जति पनि फिल्ममा अभिनय गरेको छु ति सबैमा आम नेपालीले अपनाउने जीवन शैलीलाई नै अभिनयको औजार बनाएको छु’ हमालको भनाइ थियो।

संगीतकार सन्तोष श्रेष्ठले आफूले आजसम्म जम्मा दुईजनाको घरमा आफैंले हार्मोनियम लिएर गएको बताए। ‘मैले राष्ट्रकवि स्व. माधवप्रसाद घिमिरे र महानायक राजेश हमालको घरमा नै पुगेर उहाँहरूको अगाडि हार्मोनियम बजाएको छु’ संगीतकार श्रेष्ठको भनाइ थियो ‘चल्तीका गायकको स्तरमा नै हमालले यो गीत गाउनुभएको छ।’ गीतकार गोविन्द भट्टले नेपालको वास्तविकतालाई गीतमा उतारेको बताए।

भिडियोका निर्देशक देवेन्द्र पाण्डेले हमालसँग ऐतिहासिक काम भएको बताए। ‘यो काम एक इतिहास बन्नेछ भन्ने लागेको छ। यो गीतको प्रतिक्रियाबाट आगामी दिनमा महानायकसँगको सहकार्यता अझै सुमधुर हुने अपेक्षा गरेको छु’, पाण्डेले भने।

प्रतिक्रिया दिनुहोस्