हेटौंडामा संगीतकार जंगम पुरस्कृत



हेटौंडा, (नेस)।

ख्यातिप्राप्त संगीतकार, प्राध्यापक दीपक जंगमलाई हेटौंडामा आयोजित कार्यक्रमका बीच बिजुलीमाया वनः श्रेष्ठ राष्ट्रिय संगीत पुरस्कारबाट पुरस्कृत गरिएको छ । भीम विराग संगीत साहित्य कला प्रतिष्ठान नेपाल मकवानपुरले हरेक वर्ष प्रदान गर्दै आएको उक्त पुरस्कार भीम विरागको १०औं स्मृति दिवसको अवसरमा हालै हेटौंडामा आयोजित सांगीतिक समारोहबीच प्रदान गरिएको हो।

प्रतिष्ठानका अध्यक्ष ह्यग्रीव आचार्यको सभाध्यक्षता तथा साहित्यकार एलबी क्षेत्रीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा संगीतकार जंगमलाई एक लाख रुपियाँ नगदसहित दोसल्ला ओढाएर सम्मानित गरिएको थियो। २०१० सालमा भक्तपुरमा जन्मिएका संगीतकार जंगमले हालसम्म चार हजारभन्दा बढी गीतमा संगीत भरेका छन् भने दुई सयभन्दा बढी गीतमा स्वर दिएका छन्।

पुरस्कृत संगीतकार जंगमले आफूले अर्को जिम्मेवारी पाएको बताए। आफूले ५६ वर्ष संगीतमा बिताएको जनाउँदै उनले अबको समय पनि महिनाको एउटा गीत रेकर्ड गर्ने बताए। हेटौंडाका व्यवसायी/समाजसेवी कन्हैयाकृष्ण श्रेष्ठले आमाको नाममा बिजुलीमाया वनः श्रेष्ठ राष्ट्रिय संगीत पुरस्कार स्थापना गरेका हुन्। २०६४ सालदेखि प्रतिष्ठानको व्यवस्थापनमा हरेक वर्ष उक्त पुरस्कार प्रदान गरिँदै आएको छ ।

उक्त पुरस्कारसँगै भीम विराग युवा संगीत पुरस्कार–२०७८ बाट लोकप्रिय गायक शिव परियारलाई नगद २५ हजारसहित पुरस्कृत गरिएको छ। शिक्षाप्रेमी नीरा गोर्खालीले पुरस्कार सौजन्य गरेकी हुन्। परियारले आफूलाई पुरस्कारको योग्य ठान्दै पुरस्कार प्रदान गरेकोमा आयोजकलाई धन्यवाद व्यक्त गरेका थिए ।

उनले आफूले प्राप्त गरेका पुरस्कारबाट खर्चेर हेटौंडा–९ स्थित मानवसेवा आश्रममा आश्रितहरूलाई खान खुवाउने बताए। कार्यक्रममा पुरस्कृत जंगम र परियारले आ–आफ्ना सांगीतिक प्रस्तुति दिएका थिए। कार्यक्रममा कला, साहित्य र संगीत क्षेत्रका व्यक्तित्वको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्