सामुदायिक विद्यालयले लगानीअनुरुप नतिजा दिनुपर्छ : मेयर शाक्य



न्यज अफ नेपाल, काठमाडौं ।

काठमाडौंका सामुदायिक विद्यालयहरूको गुणस्तर बृद्धि गर्न काठमाडौं महानगरपालिकाले सक्दो लगानी गरिरहेको दावी गर्दै काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले त्यसको सकारात्मक नतिजा देखिनुपर्नेमा जोड दिनुभएको छ ।

काठमाडौंको मुटु न्युरोडमा रहेको हिमालय माध्यामिक विद्यालयको हीरक जयन्ती समारोहमा बोल्दै मेयर शाक्यले सामुदायिक विद्या लयहरूको लगानी अनुरुपको नतिजा नदिए शिक्षा क्षेत्र स्थानीय तहको मातहतबाट फिर्ता जान सक्ने टिप्पणी गर्नुभयो ।

उहाँले कामपा नीजि विद्यालयभन्दा सामुदायिक विद्यालय उत्कृष्ट रहेको प्रमाणित गर्न आतुर रहेको जिकिर गर्दै यसका लागि विद्यालय व्यवस्थापन र प्रशासनले पनि विशेष ध्यान दिनुपर्ने आवश्यक्ता औल्याउनुभयो ।

कार्यक्रममा उहाँले प्राथमिक विद्यालयका शिक्षकशिक्षिकाको पारिश्रमिक १३ हजार ५ सयबाट बढाएर १५ हजार पु-याउने लक्ष्य प्राप्तिका लागि सरकारले अनुदान नदिए कामपा आफैंले प्रयास गर्ने आश्वासन पनि दिनुभयो ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिल्लीरत्न शाक्यले कोरोना संक्रमणले विद्यालयहरू बन्द भएको बेलामा अनलाईन कक्षा संचालन गर्ने सामुदायिक विद्यालयहरूमध्ये हिमालय मावि पहिलो भएको दावी गर्नुभयो ।

उहाँले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बृद्धिका लागि कामपाको सहयोगमा वर्षमा एक पटक काठमाडौंका सामुदायिक विद्यालयका शिक्षकशिक्षिकाहरूलाई जापानको शैक्षिक भ्रमण गराउने प्रयास भइरहेको जानकारी दिनुभयो । कार्यक्रममा विद्यालयको भौतिक सुधारमा सहयोग पु-याउने व्यक्ति तथा विभिन्न संघसंस्थालाई सम्मान गरिएको थियो ।

त्यसैगरी कोरोना महामारीमा अनलाईन कक्षा संचालन गर्ने शिक्षकशिक्षिकाहरूलाई पनि कदपत्र प्रदान गरिएको थियो । कार्यक्रममा विद्यालयको स्मारिका ‘हिमालय एट अ ग्लान्स’ सार्वजनिक गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्