काठमाडौं ।
नेपालको सार्वजनिक ऋण चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा ३० खर्ब ९ अर्ब रुपियाँ नाघेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार असोज मसान्तसम्म सरकारको कुल ऋण ३० खर्ब ९ अर्ब ११ करोड रुपियाँ पुगेको हो ।
गत आर्थिक वर्षको अन्त्यमा २९ खर्ब ८१ अर्ब रुपियाँ रहेको सार्वजनिक ऋण तीन महिनामै थप बढेको हो । कुल ऋणमध्ये आन्तरिक ऋण १४ खर्ब १० अर्ब ३१ करोड र बाह्य ऋण १५ खर्ब ९८ अर्ब ८० करोड रुपियाँ छ । सार्वजनिक ऋण कुल गार्हस्थ उत्पादन (जीडीपी) को ४५.५९ प्रतिशत पुगेको कार्यालयको तथ्यांक छ ।
सरकारले चालु आवमा ६ खर्ब ५८ अर्ब २८ करोड रुपियाँ ऋण उठाउने लक्ष्य राखेकोमा पहिलो तीन महिनामा १ खर्ब २३ अर्ब ३२ करोड रुपियाँ परिचालन गरेको छ । यो वार्षिक लक्ष्यको १८.७३ प्रतिशत हो । ऋण परिचालनसँगै सरकारले साँवाब्याज भुक्तानीमा पनि ठूलो रकम खर्च गरेको छ । असोज मसान्तसम्म ऋणको साँवा भुक्तानीमा ७७ अर्ब ७४ करोड र ब्याजमा २१ अर्ब १२ करोड गरी कुल ९८ अर्ब ८७ करोड रुपैयाँ खर्च भएको छ ।
यस अवधिमा सरकारको पुँजीगत खर्च भने २८ अर्ब ४२ करोड रुपैयाँमा सीमित छ । विकास निर्माणमा हुने खर्चभन्दा ऋणको साँवाब्याज भुक्तानीमा झन्डै साढे तीन गुणा बढी रकम खर्च हुनुले सार्वजनिक वित्तमाथिको दबाब देखाउँछ । पछिल्लो दशकमा नेपालको सार्वजनिक ऋण दोब्बरभन्दा बढी भएको छ । अपेक्षित राजस्व संकलन नहुनु, सार्वजनिक खर्च बढ्नु र वैदेशिक अनुदान घट्नुले ऋणमाथिको निर्भरता बढाएको छ । बढ्दो ऋणभारसँगै त्यसको प्रभावकारी उपयोग र उत्पादनमूलक क्षेत्रमा लगानी सुनिश्चित गर्नु सरकारका लागि चुनौती बनेको छ ।











प्रतिक्रिया