मन्त्री आलेद्वारा डोटीका दुई जना बिरामीको उपचारका लागि आर्थिक सहयोग 



विमल विष्ट, काठमाडौं ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले डोटीका दुई जना बिरामीलाई उपचारका लागि रु ३० हजा र आर्थिक सहयोग प्रदान गर्नु भएको छ । डोटीको सायल गाउँपालिका–५ घोघातलकी ४८ वर्षीया कृष्णादेवी साउद तथा डोटीकै दिपायल सिलगढी नगरपालिका–९ कलेनाका ४८ वर्षीय इन्द्रबहादुर साउदको उपचारका लागि मन्त्री आलेले आर्थिक सहयोग प्रदान गर्नु भएको छ ।

यही फागुन ३ गते माटोको ढिस्कोले पुरिएर मेरुदण्डको तीन ठाउँमा भाँचिएर राष्ट्रिय ट्रमा सेन्टर काठमाडौँमा उपचार गराइ रहनु भएकी कृष्णदेवीको अवस्था बुझ्न मन्त्री आले ट्रमा सेन्टरमा पुग्नु भई उहाँको उपचारका लागि आफ्नो व्यक्तिगत तर्फबाट रु १५ हजार प्रदान गर्नु भएको हो ।

यसै गरी खुट्टामा एक्टीनो माइकोसिस (ढुसी) नामक सङ्क्रमणको समस्या देखिएर राष्ट्रिय ट्रमा सेन्टरमै पुग्नु भएका ४८ वर्षीय इन्द्रबहादुर लाई पनि उपचारका लागि मन्त्री आलेले रु १५ हजार आर्थिक सहयोग प्रदान गर्नु भएको हो ।साउदको करिब १२ वर्ष पहिले दायाँ खुट्टामा चोट लागेको र अहिले आएर उक्त चोटकै कारण दाहिने खुट्टामा एक्टीनो माइकोसिस (ढुसी)नामक सङ्क्रमण देखिएको र खुट्टा नै काट्नु पर्ने अवस्था देखिएको राष्ट्रिय ट्रमा सेन्टरका चिकिसकहरुले जानकारी दिएका छन् ।

मन्त्री आलेले हाललाई दुबै जना बिरामीको चेक जाँचका लागि भन्दै केही उपचार सहयोग दिनु भएको र बिरामीको थप उपचारका लागि आफूले पहल गर्ने बचन बद्धता व्यक्त गर्नु भएको मन्त्री आलेको सचिवालयले जनाएको छ ।

मन्त्री आलेले हाल सम्म सुदूरपश्चिम र मध्यपश्चिमका गरी कम्तीमा पनि एक हजार जना भन्दा बढी बिरामीलाई उपचारका लागि आफ्नो व्यक्तिगततर्फबाट आर्थिक सहयोग प्रदान गरी सक्नु भएको छ । आफ्नो गृह जिल्ला डोटी तथा सुदूरपश्चिमका नागरिकहरू बिरामी परि उपचारका लागि काठमाडौँ  आउँदा आर्थिक सहयोगका लागि मन्त्री आलेकै घरमा पुग्ने गरेको उहाँका स्वकीय अधिकृत भक्तबहादुर साउदले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्