पाँच खेलाडीको नाम सार्वजनिक



काठमाडौं ।

आगामी चैत दोस्रो साता हुने पल्सर स्पोर्टस् अवार्ड २०७७ अन्तर्गत पिपल्स च्वाइस अवार्डका लागि ५ खेलाडीको नाम सार्वजनिक भएको छ । मनोनयनमा पर्ने खेलाडीमा फुटबलकी एन्जिला तुम्बापो सुब्बा, एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठ, टेबल टेनिसकी एलिना महर्जन, ब्याडमिन्टनका प्रिन्स दाहाल र क्रिकेटका कुशल भुर्तेल रहेका छन् । आयोजक नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले २०७७ सालभरिको प्रदर्शनको आधारमा पिपुल्स च्वाइस विधाको लागि खेलाडी छनोट गरिएको हो ।

मनोनयनमा परेका खेलाडीको उत्कृष्टताको छनोट ई–सेवामार्फत एसएमएस भोटिङ, फेसबुक लाइक, एनएसजेएफका सदस्य र राष्ट्रिय खेल संघका मुख्य प्रशिक्षकको भोटको आधारमा गरिने मञ्चले जनाएको छ । भोटिङका लागि ई–सेवाको एप डाउनलोड गरी आफूलाई मनपर्ने खेलाडीको प्रोफाइलमा गएर भोट गर्न सकिनेछ ।

हिजैबाट शुरु भएको भोटिङ लाइन चैत ७ गते १२ बजेसम्म खुला रहने छ । ई–सेवा भोटिङको मत ५० प्रतिशत, फेसबुक लाइकको २५ प्रतिशत तथा खेल पत्रकार र मुख्य प्रशिक्षकको भोटको मतभार समान १२.५ प्रतिशत रहनेछन् । फेसबुकमा भोट गर्न एनएसजेएफ पल्सर स्पोर्टस् अवार्डको आधिकारिक पेजमा गएर लाइक गर्न सकिनेछ । हिजै मञ्चले ई–सेवासँग सम्झौता गर्यो ।

प्रतिक्रिया दिनुहोस्