क्रिकेट, विवाद, रोमान्स र वार्न



काठमाडौं ।

शेन वार्न एक यस्ता क्रिकेटर हुन्, जो मैदानभित्र वा बाहिर जहाँ भए पनि केही न केही काण्डले चर्चित भइरहन्थे । स्पिन किङले चर्चित् वार्नले जबसम्म खेले तबसम्म क्रिकेट संसारमा कीर्तिमानै कीर्तिमान रचेका थिए । उनको शुक्रबार ४ मार्चमा थाइल्यान्डमा ह्दयघातको कारण ५२ वर्षको उमेरमा अकस्मात निधन भएको थियो । उनी अहिले यो संसारमा नभए पनि क्रिकेट प्रेमीले उनलाई सम्झिरहनेछन् ।

वार्नको काम पिचमा बल घुमाउने अनि मैदानबाहिर रंगीन संसारमा केटी घुमाउने थियो भन्दा फरक नपर्ला । कहिले महिलालाई अश्लील एमएमएस पठाउँदै चर्चा पाउने त कहिले मोडलहरूसँग होटेलमा रात बिताउन पछि नपर्ने । कहिले श्रीमती सिमोनसँग पारपाचुके गर्दै क्रिकेटप्रेमीहरूलाई आश्चर्यमा पार्छन् । फेरि ब्रिटिश अभिनेत्रीसँग माया साटासाट गरी क्रिकेटबाहिर लभर ब्वाय को छवि सिर्जना गर्छन् ।

१३ सेप्टेम्बर १९६८ मा जन्मेका वार्नको पूरा नाम शेन केथ वार्न हो । उनले १९९१–९२ मा भारतविरुद्ध सिड्नी क्रिकेट मैदानमा टेस्ट करियरमा डेब्यु गरेका थिए । त्यसपछि उनी लामो समय करिब २० वर्षसम्म क्रिकेटमा जमेका थिए । वार्नले चौथो संस्करणको इन्डियन प्रिमियर लिगमा सबै फरम्याटका क्रिकेटबाट संन्यास लिएको घोषणा गरेका थिए ।

क्रिकेट करियरको शुरुवाती समयदेखि नै वार्न केही न केही काण्डमा मुछिएका थिए । सन् १९९४ मा श्रीलंका भ्रमणमा वार्न र उनका साथी व्याटसम्यान मार्क वाग र स्टिभ वागमाथि भारतीय दलालसँग घुस लिएको आरोप लागेको थियो । वार्नमाथि अर्को पनि आरोप लागेको थियो कि उनले प्रतिबन्धित औषधि सेवन गरेका थिए ।

उक्त आरोपपछि वार्न एक वर्षसम्म प्रतिबन्धित भए । फेबु्रअरी २००३ मा विश्वकप हुनअघि वार्नलाई उनको देश फर्काइए । उनीमाथि प्रतिबन्धित औषधि फेरि सेवन गरेको आरोप लागेको थियो । अस्ट्रेलियामा एकदिवसीय क्रिकेट शृंखलाको समयमा प्रतिबन्धित औषधि लिएकोमा वार्न दोषी ठहरिएका थिए ।

वार्न एक वर्ष क्रिकेटबाट टाढा हुँदा फुटबलतिर पनि लागेका थिए । उनी एक अस्ट्रेलियाली फुटबल क्लबका प्रशिक्षकको भूमिकामा रहेका थिए । यस्तै, उनले खालि समयको सदुपयोग गर्दै अस्ट्रेलियाको च्यानल नाइन विद्युतीय सञ्चारमा टिभी कमेन्टेटरको जागिर पनि खाएका थिए ।

वार्नको सुनौला यात्रा
फ्रेबु्रअरी २००४ मा वार्न क्रिकेटमा फेरि फर्के, जुन उनका लागि सुनौलो यात्रा पनि साबित भयो । क्रिकेटमा फर्केको एक महिनापछि नै उनले टेस्ट क्रिकेटमा ५ सय विकेट लिए । उनी वेस्टइन्डिजका प्रख्यात फास्ट बलर कर्टली वाल्शपछि टेस्टमा ५ सय विकेट लिने दोस्रो बलर बनेका थिए ।

त्यसको एक वर्षपश्चात् अगस्ट २००५ मा ओल्ड ट्राफोर्डमा वार्नले अर्को कीर्तिमान रचे । उनले ६ सय विकेट लिँदै आफूलाई क्रिकेट संसारका सबैभन्दा सफल बलर बनाए । उनी टेस्ट क्रिकेटमा ६ सय र ७ सय विकेट लिने पहिलो बलर समेत थिए । २००६ डिसेम्बर ३१ मा उनले अन्तर्राष्ट्रिय क्रिकेट करियरलाई अन्त्य गरेका थिए ।

जुन बेला उनी ७ सय ८ विकेट लिएर टेस्ट क्रिकेटमा सर्वाधिक विकेट लिने सूचीको पहिलो स्थानमा थिए । हाल यो स्थानमा श्रीलंकाका स्पिनर मुथैया मुरलीधरण ८ सय विकेट लिएर बसिरहेका छन् ।

महिलासँग सम्बन्ध
वार्न महिलासँगको सम्बन्धमा कुनै हलिवुड अभिनेता वा प्ले ब्वाईभन्दा कम थिएनन् । यस्तै रोमान्टिक भएकोले होला उनकी श्रीमती सिमोन कालाहानसँग उनको पारपाचुके भएको थियो । निजी जीवनमा उनी सदैव अखबारमा चर्चाको व्यक्ति नै बनिरहेका थिए । सिमोनबाट ब्रुक वार्न, समर वार्न र ज्याक्सन वार्न (२२ वर्ष) गरी उनका तीन सन्तान छन् ।

एकपटक दक्षिण अफ्रिकाको भ्रमणमा वार्नले एक महिलालाई कामुक एमएमएस पठाएका थिए । तर, यो मामिलामा उनी भाग्यमानी बने कि ती आरोप लगाएकी महिलालाई देश निकाला गरिएको थियो । सन् २००० मा एक ब्रिटिश नर्सलाई पनि कामुक सन्देश पठाएको आरोप पुष्ट भएको थियो । यसपटक भने उनको टिमको कप्तानी छिनिएको थियो । त्यही समयमा किशोरहरूसँग झगडा गर्दा उनी अर्को विवादमा मुछिएका थिए । उनले चुरोट तानिरहेका तस्वीर खिचेको भन्दै उनी किशोरहरूमाथि जाइलागेका थिए ।

रमाइलो घटनाले पारपाचुके
वार्न र सिमोनको पारपाचुकेको प्रसंग पनि रमाइलो घटना बन्न पुगेको थियो । वार्नले एक महिलालाई सन्देश पठाएका थिए । त्यो सन्देश यस्तो थियो—ओ सुन्दरी, म बच्चाहरूसँग छु, घरको पछाडि ढोका खुल्ला छ ।

यो सन्देश झुक्किएर मेलबर्नमा रहेकी सिमोनको मोबाइलमा पुगेछ । सिमोनले सन्देश पढेपछि जवाफ पनि पठाइन् । उनको जवाफ यस्तो थियो—तिमीले गलत महिलालाई सन्देश पठायौ ।

वार्नले आफूसँग यौनसम्बन्धमा रहेकी कुनै महिलालाई सन्देश पठाएको, तर झुक्किएर सिमोनको मोबाइलमा सम्प्रेषण भएपछि नै श्रीमान–श्रीमतीबीच तनाव सिर्जना भएको थियो । सिमोनले एक अखबारमा अन्तर्वार्तामा भनेकी थिइन—सन्देश पढेर मेरो हृदय छियाछिया भयो । म एकदम आतिएँ । सन्देशमा पछाडिको ढोका खुलाको मतलब उनको ती महिलासँग सम्पर्क रहेको पुष्टि गर्छ ।

वार्नले यो मामिलामा माफी मागे पनि सिमोनले वार्नमाथिको भरोसा टुटिसकेको भन्दै २००५ जुनमा अलग भएकी घोषणा गरेकी थिइन् । पारपाचुकेपछि वार्न झनै रंगिला भएको लन्डनको एक होस्टेलकी एक छात्राले लगाएको ठूलै आरोपले पुष्टि गर्छ । ती छात्राले वार्नले निर्वस्त्र भई उनीसामु उभिएर यौनसम्पर्क गर्न दबाब दिएको आरोप लगाएकी थिइन् ।

दुई मोडलसँगको रात
सन् २००६ मेमा एक अखबारमा वार्नको २५ वर्षका दुई मोडलसँग केवल अन्डरवेयर लगाएर पोज दिएको तस्वीर छापिएको थियो । त्यो तस्वीर निकै भाइरल भएको थियो । त्यतिबेला, मिडलसेक्स र ह्याम्पसायरबीचको खेल भइरहेको थियो।

पहिलो दिनको खेल समाप्तिपछि वार्न रक्सीका दुई शीशी लिएर मोडेल एम्माको आलिशान फ्ल्याटमा गएका थिए । त्यहाँ एम्मासँग एमटीभी (म्युजिक च्यानल) की एन्कर र मोडल कोरोली पहिले नै थिइन् । वार्नले दुवै महिलासँग रात बिताएको चर्चा पनि निकै भएको थियो ।

लिज भेट्दा वार्नको फेरिएको लुक
४० वर्षीय वार्नको ४६ वर्षीय ब्रिटिस अभिनेत्री एलिजावेथ हर्ली (लिज हर्ली) सँग २०१० मा भेट भएको थियो । लिजको संगतमा परेर उनले आफ्नो हेयरस्टायलदेखि लुगा लगाउनेसम्म शैली फेरेका थिए । उनको लुक नै फेरिएको थियो । लिजले अरुण नायरसँग सम्बन्ध खतम गरेपछि वार्नसँग डेटिङ गरेकी थिइन् । वार्नको लीजसँगको बिहे तीन वर्ष मात्रै टिकेको थियो । २०१३ मा उनीहरू छुटिएका थिए ।

प्रतिक्रिया दिनुहोस्