फरार हत्यारा छोप्दै जेल कोच्दै बाजुरा प्रहरी



बाजुरा ।

जिल्ला प्रहरी कार्यालय बाजुरा पछिल्लो समयमा हत्या अभियुक्त समात्न सफल हुँदै आएको छ । डीएसपी चतुर्भुज ओझा जिल्ला प्रहरी कार्यालय बाजुरामा प्रमुख भएर आएसँगै हत्या गरी फरार भएका हत्यारा समाउन प्रहरी सक्रिय भएको हो ।

एक साताभित्र बाजुराका साविकको कैलाशमाण्डौं गाविस कालापानीका भरत गिरीलाई भारतको अल्मोडबाट समातेर ल्याएको थियो । त्यसै गरी, खप्तड क्षेडेदह गाउँपालिका दुुई जयवागेश्वरीका हत्या अभियुक्त ६८ वर्षीय मीनबहादुर सिंहलाई ३१ वर्षपछि पक्राउ गरेको छ । कैलाली प्रहरीको सहयोगमा उनलाई धनगढीबाट समातिएको प्रहरीले बताएको छ । अभियुक्त सिंहलाई जिल्ला प्रहरी कार्यालय बाजुराले बुधबार पत्रकार सम्मेलन गरी जेल चलान गरेको थियो ।

२०४८ साल असोज ६ गते भैंसीले कोदोबाली खाएको विषयलाई लिएर गाउँमा विवाद हुँदा सोही वडाका शंकर धामीको हत्या गरी सिंह ३१ वर्षदेखि फरार रहेका थिए । ३१ वर्षदेखि फरार रहेका सिंहलाई पक्राउपछि जिल्ला प्रहरी कार्याल बाजुराले प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको थियो । सिंहलाई ३१ वर्षपछि लुकीछिपी बसेको अवस्थामा कैलाली प्रहरीको सहयोगमा धनगढीको सन्तोषी टोलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरीक्षक चर्तुभुज ओझाले बताउनुभयो ।

२०५४ साल भदौ २५ गते पुनरावेदन अदालत दिपायलले हत्यारा मीनबहादुर सिंहसमेतका प्रतिवादीहरुलाई जन्मकैदको फैसला गरेको थियो भने २०७५ असार २८ गते सर्वोच्च अदालतले निज प्रतिवादीलाई १० वर्षको कैद सजाय फैसला गरेको थियो प्रहरी प्रतिवेदनमा उल्लेख छ ।

फैसला भएको दिनदेखि नै प्रतिवादी सिंह ३१ वर्षदेखि फरार रहेका थिए । ३१ वर्षपछि पक्राउ गरिएका सिंहलाई बाजुरा जिल्ला अदालतले बुरबार नै कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । बाजुरामा ज्यानकेस, जबरजस्ती करणी, वन मुद्दा लागेका ६० जना अभियुक्त थिए । पछिल्लो समयमा २० जनाको फैसला कार्यान्वयन भएको छ । ‘अझै ४० जना फरार छन् । निकट भविष्यमै हामी शून्यमा झार्छौं ।’ –जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख ओझाले भन्नुभयो । पछिल्लो समयमा १०० र १०४ टेलिफोन प्रयागकर्ता बढेको प्रहरी उहाँले बताउनुभएको छ ।

केही साताअघि १५ वर्षीया बालिका स्वयंले प्रहरीलाई खबर गरेपछि अभियुक्त समातेर कारबाही चलाउन सफल भएको ओझको भनाइ छ । ‘अपराधी जहिले पनि अपराधी नै हुन्छ । ३१ वर्षपछि पनि ज्यानमारा समात्न जिल्ला प्रहरी कार्यालय बाजुरा सफल भएकोमा छ’, पत्रकार सम्मेलनमा प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौडेलले भन्नुुभयो– ‘प्रहरीको सक्रियताले बाजुराको शान्ति सुरक्षा पनि मजबुत बनेको छ ।

प्रतिक्रिया दिनुहोस्