स्कुल–स्कुलमा भँगेरी चरी संरक्षण अभियान



काठमाडौं, (नेस) ।

भँगेरा बचाऊ अभियानका सामाजिक अभियन्ता धु्रव बस्नेतले स्कुल–स्कुलमा गएर भँगेरा बचाउन आह्वान गर्न थाल्नुभएको छ । कीर्तिपुर नगरपालिका ५ स्थित पृथ्वीचोकको ग्रिन भिलेज एजुकेसन फाउन्डेसनमा बुधबार प्रार्थनासभामा उपस्थित भई बस्नेतले भँगेराको महत्वबारे जानकारी गराउनुभयो ।

‘भँगेरा बचाउनु किन आवश्यक छ भन्ने कुरा हामी सबैले बुझ्नुपर्छ, भँगेरा सहकाल र निरोगिता ल्याउने चरा हो, यसको विनाश मानव जातिका लागि हानिकारक छ’, कीर्तिपुर नगरपालिका–४ टुँसालका बस्नेतले भन्नुभयो– ‘आधुनिक घरको गाह्रोमा बाहिरबाट प्वाल राख्ने चलन हराएसँगै भँगेरा पनि हराउन थाले, हामी विभिन्न रोगका शिकार पनि हुन थाल्यौं ।’

‘आधुनिक भवन निर्माण संहितामा गाह्रोको बाहिरी भागमा चराचुरुङ्गीका लागि सोचेर स्थान बनाउने अभ्यास छैन, पहिला पुराना घरमा त्यस प्रकारको सोच थियो ।’ –उहाँ तुलना गर्नुहुन्छ ।

यही मार्च २० मा सदाझैं अन्तर्राष्ट्रिय भँगेरा दिवसमा सहभागी हुनलागेका बस्नेतले सरकारी, गैरसरकारी र निजी क्षेत्रबाट बन्ने घरलाई भँगेरामैत्री बनाउन भवनसंहिता ल्याउनुपर्ने, नगरपालिका र गाउँपालिका यस विषयमा सजग हुनुपर्ने सुझाव दिनुभएको छ ।

‘पहिला नेपाली प्रचलन अनुसार घर नै मन्दिर र मन्दिर नै घरको अवधारणा थियो, वनस्पति र चराचुरुंगीका लागि पनि सोचिन्थ्यो, प्रत्यक्ष त्यसको लाभ मानवजातिलाई नै हुन्थ्यो, ‘चखुप्वा’ अब इतिहास भइसक्यो । आफैं गुँड बनाउन नसक्ने र कागजस्ता अन्य शत्रुबाट बचेर गुजारा चलानुपर्ने मानवको मित्र यस चरालाई हामीले ध्यान दिन नसक्नु विडम्बना हो ।’ –बस्नेतले भन्नुभयो । उहाँले विद्यालय–विद्यालयमा गएर विद्यार्थीलाई भँगेरामैत्री घरका लागि सचेत गराउने अभियान निरन्तर अघि बढाउने बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्