चोरीका मूर्ति फिर्ता ल्याउन पहल गरेको छु : मन्त्री आले



काठमाडौं ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपालबाट चोरी भई विदेश पुगेका पुरातत्व बोकेका मूर्तिहरु नेपाल फिर्ता ल्याउन पहल भइरहेको बताउनुभएको छ । नेपालबाट हराई (चोरी भई) अमेरिका पुगेका तीन थान मूर्ति बुधबार नेपाल ल्याएर सार्वजनिक गरेको कार्यक्रममा उहाँले सो बताउनुभएको हो ।

कार्यक्रममा बोल्नुहुँदै मन्त्री आलेले नेपालबाट चोरी भएका वर्षौं पुराना मूर्तिहरु विभिन्न देश तथा त्यहाँका सङ्ग्रहालयमा रहेको भन्ने खबर आएकाले ती मूर्तिहरु नेपाल ल्याउन पहल भइरहेको बताउनुभयो । ‘आवश्यक प्रमाणसहित परराष्ट्र मन्त्रालयको सहकार्य तथा इन्टरपोलमार्फत नेपाल ल्याउनेछौं ।’ – उहाँले भन्नुभयो ।

मन्त्री आलेले नेपालबाट हराएका (चोरी भएका) अन्य मूर्तिहरु पुनः नेपाल फिर्ता ल्याउनका लागि सबै परराष्ट्र मन्त्रालय, सञ्चारकर्मी तथा सरोकारवाला निकाएहरुलाई आवश्यक सहयोग र पहल गर्न समेत आग्रह गर्नुभएको थियो ।

नेपालबाट चोरी भएका तीनवटा मूर्ति १७औं शताब्दीको मल्लकालीन ध्यान मुद्रामा रहेको प्रस्तरको बुद्ध मूर्ति, १३औं शताब्दीको कलात्मक काष्ठ तोरण मूर्ति तथा १४औं शताब्दीको उडिरहेका गन्धर्वको आकृति कुदिँएको काष्ठकला अमेरिकाको न्युओर्कस्थित रुवियन म्युजियम अफ आर्टले फिर्ता गरेको हो ।

मूर्तिहरु आफ्नै खर्चमा नेपाल ल्याउनुभएकोमा मन्त्री आलेले रुवियन म्युजियम अफ आर्टका कार्यकारी निर्देशक डा. जोरिट बिट्सगी तथा मिसेल बेनेट सिमोरेलालाई विशेष भन्यवादसमेत दिनुभएको थियो । उक्त म्युजियमले आफ्नै व्यक्ति गत खर्च २० हजार डलरमा ती मूर्ति नेपालमा फिर्ता ल्याएको हो ।

नेपालबाट हराएका मूर्ति हालसम्म बेलायतबाट १९ थान, अस्ट्रियाबाट १ थान, अमेरिकाबाट १४ थान, तिब्बतबाट २८ थान, कलकत्ताबाट १३ थान, जर्मनबाट १ थान गरी जम्मा ७६ थान तथा कलावस्तुहरु विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थाको प्रयासबाट फिर्ता भइसकेको छ । अमेरिका, फ्रन्स, बेलायत, अस्ट्रेलिया जस्ता देशहरुमा थप केही मूर्तिहरु तथा कलात्मक वस्तुहरु रहेकाले फिर्ता ल्याउनका लागि कूटनीतिक पहल भइरहेको पुरातत्व विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्