संस्थापन विभाजन हुँदा इतरपक्ष हाबी



हेटौंडा ।

नेपाली कांग्रेसको मकवानपुर जिल्ला अधिवेशनअन्तर्गत सोमबार भएको निर्वाचनमा पदाधिकारीतर्फ संस्थापनइतर पक्ष विजयी भएको छ । बुधबार सार्वजनिक भएको पदाधिकारीको अन्तिम परिणाममा कुल ६ पदाधिकारीमध्ये ५ जना इतरपक्षका उम्मेदवारले जित हासिल गरेका हुन् ।

जिल्ला अधिवेशनको मुखमा संस्थापन पक्ष विभाजन हुँदा इतर समूहलाई फाइदा पुगेको हो । अधिवेशनका सन्दर्भमा वडादेखि क्षेत्रसम्म एकढिक्का भएर अगाडि बढेको संस्थापन पक्ष जिल्ला सभापतिको विषयलाई लिएर भने विभाजित भएको थियो । मकवानपुरमा संस्थापन पक्षको एक समूहको नेतृत्व केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय डीना र अर्को समूहको नेतृत्व पार्टी वागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले गर्नुभएको थियो ।

तर, बानियाँ र डीना दुवैले मतदान प्रक्रियामा भाग लिनुभएन । कांग्रेसका प्रभावशाली नेताका रूपमा छवि बनाउनुभएका बानियाँ र डीना मतदान प्रक्रियामा सहभागी नहुनुलाई चासोका साथ हेरिएको छ ।

विशेक्ष गरी जिल्लाको संगठनमा बानियाँको प्रभाव बढी छ । तर, सभापतिको सवालमा बानियाँले बुद्ध लामा र डीनाले आनन्दराम पराजुलीलाई अप्रत्यक्षरुपमा समर्थन गर्नुभएको थियो । संस्थापनमा पदका आकांक्षी धेरै देखिएका थिए ।

मकवानपुरमा संस्थापनको नेतृत्व लामा र पराजुलीले गर्दा इतरपक्षको नेतृत्व जयराम लामिछानेले गर्नुभएको थियो । पदाधिकारीतर्फ कुल १ हजार ७ सय ७१ मतगणना हु“दा उपसभापतिमा इतरपक्षका आनन्द कठायत र धर्म लामिछाने विजयी हुनुभएको छ । कठायतले ६ सय ११ र लामिछानेले ६ सय ६ मत प्राप्त गर्दा उपसभापतिमा उम्मेदवार गोपीलाल विश्वकर्मा, रामबाबु बानियाँ, भीम लामा, रमेश गिरी र चन्द्रबहादुर पौडेल पराजित हुनुभएको थियो ।

विश्वकर्माले ५ सय ४२ मत पाउँदा बानियाँले ४ सय ८७ मत पाउनुभयो भने लामाले ४ सय ६३, गिरीले ३ सय ५३ र पौडेलले ८२ मत प्राप्त गर्नुभयो । सचिवमा पनि इतरका उम्मेदवार विजयी भएका छन् । इतरपक्षबाट उम्मेदवार रहनुभएका भीमसेन महत ८ सय १३ र ईश्वर पाठक ७ सय ३५ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँहरुले संस्थापन पक्षका यतिराज सापकोटा, अर्जुनप्रसाद चौलागाईंले, प्रदीप कोइराला र मानबहादुर पाटामगरलाई पराजित गर्नुभयो । सहसचिवमा भने संस्थापन पक्षबाट १ जना र इतरबाट १ जना विजयी हुनुभएको छ ।

सहसचिवमा संस्थापनइतर पक्षबाट इन्दिरा न्यौपाने र संस्थापनबाट ताराचन्द्र बजगाईं विजयी हुनुभएको छ । उहाँहरुले सहसचिवका उम्मेदवार मीरा स्यांतान, रत्नबहादुर गोले, अर्जुनप्रसाद तिवारी, कृष्णप्रसाद दाहाल र सुमन कार्कीलाई पछि पार्दै जित हासिल गर्नुभएको हो ।

कांग्रेस मकवानपुर सभापतिमा संस्थापन पक्षका उम्मेदवार बुद्ध लामा सर्वसम्मत चयन हुनुभएको थियो । अधिवेशनअन्तर्गत आइतबार शुरु निर्वाचन प्रक्रियामा सभापतिका ३ मध्ये कुनै उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन नसकेपछि दोस्रो चरणको निर्वाचन प्रक्रियामा पुगेको थियो । दोस्रो चरणका लागि संस्थापन पक्षका २ उम्मेदवार लामा र पराजुलीबीच प्रतिस्पर्धा हुने भएपछि शीर्ष नेतृत्वको पहलमा भएको छलफलबाट भद्र सहमति गर्दै सभापतिमा लामालाई चयन गरिएको हो ।

अबको लक्ष्य स्थानीय तह निर्वाचन
नेपाली कांग्रेस मकवानपुरका नेताहरुले अबको आफूहरुको लक्ष्य र गन्तव्य आगामी स्थानीय तहको निर्वाचनमा पार्टीलाई विजयी गराउनुभएको बताएका छन् ।

कांग्रेसको जिल्ला सभापतिमा निर्वाचित लामा तथा सभापतिका उम्मेदवारद्वय पराजुली र लामिछानेले हेटौंडामा बुधबार आयोजित कार्यक्रममा अबको गन्तव्य स्थानीय तहको निर्वाचन भएको भन्दै आफूहरु एकमत र मन भएर संगठनमा लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

जिल्ला सभापति लामाले पार्टीभित्रका सबै विचारको सम्मान गर्दै अगाडि बढ्ने बताउँदै आन्तरिक प्रतिस्पर्धा सकिएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्