प्राध्यापकद्वारा क्याम्पसमा तालाबन्दी



पाल्पा, (नेस) ।

‘समान कामको समान ज्याला’ पाउनुपर्ने माग गर्दै त्रिभुवन विश्वविद्यालयका क्याम्पसमा अध्यापनरत आंशिक प्राध्यापकहरुले पाल्पाका त्रिभुवन बहुमुखी क्याम्पसको विभिन्न शाखामा तालाबन्दी गर्नुका साथै क्याम्पस प्रमुखमार्फत सरोकारवालाको ध्यानाकर्षण समेत गराएका छन् ।

केन्द्रीय संघर्ष समितिको निर्णयबमोजिम गरेको आन्दोलतअन्तर्गत कार्यक्रम गरिएको सम्बन्धित प्राध्यापकले संघका इकाइ समितिका अध्यक्ष कृष्ण आलेले जनाएका छन् । वर्षमा २ सय ४० दिन काम गर्दा पनि ज्यालादारीमै राखेर आफूहरुलाई विभेद गरिएको उहाँको गुनासो छ ।

पटक–पटक भएका आन्दोलनपछि गरिएको सम्झौता त्रिविले कार्यान्वयन नगरेको आरोप आंशिक प्राध्यापकको छ । तालाबन्दीसहितको आन्दोलन कायम रहँदासम्म आंशिक प्राध्यापकले सम्पूर्ण शैक्षिक गतिविधि समेत बहिष्कार गर्ने आलेले बताउनुभयो । केन्द्रको निर्देशनअनुसार क्याम्पसको क्याम्पस प्रमुख, प्रशासन र लेखा शाखामा अनिश्चित्कालीन तालाबन्दी गरेको उहाँको भनाइ छ ।

४ हजार ५ सय सेवा निवृत्त प्राध्यापकहरुको कक्षा भारसहित त्रिभुवन विश्व विद्यालयको लगभग ६५ प्रतिशत कक्षाभार आंशिक प्राध्यापकले धाने पनि दैनिक ज्यालादारीबाट मासिक ज्यालादारीमा लान माग गर्दा अटेर गरेको आन्दोलनकारीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्