फेरि पक्राउ परे दीपेन्द्र, आठौं मुद्दा खेप्दै



बाँके ।

नेपालगन्ज उपमहानगरपालिका–१२ का २८ वर्षीय दीपेन्द्र अधिकारी फेरि अटोमेटिक पेस्तोलसहित पक्राउ परेका छन् । अधिकारीका विरुद्धमा यसअघि सातवटा मुद्दा विचाराधीन छ । बाँके प्रहरी प्रवक्ता डीएसपी मधुसूदन न्यौपानेका अनुसार दीपेन्द्रका विरुद्धमा दुईवटा ज्यान मार्ने उद्योग, दुईवटा लागूऔषध, दुईवटा चोरी र एउटा जबरजस्ती करणी उद्योगका मुद्दा विचाराधीन छन् । दीपेन्द्र ६ वटा मुद्दामा अदालतबाट धरौटीमा छुटेका थिए । एउटा ज्यान मार्ने उद्योगमा उनी फरार सूचीमा छन् ।

प्रहरी हिरासत र अदालत दीपेन्द्रका लागि सामान्यजस्तो भएको प्रहरीको भनाइ छ । बाँके प्रहरीले डुडुवाको राप्ती पुलबाट मेड इन यूएसए लेखेको अटोमेटिक पेस्तोल, त्यसको ९ राउन्ड गोली र एउटा खुँडासहित तीन जनालाई पक्राउ गरेपछि आयोजित पत्रकार सम्मेलनमा दीपेन्द्रले निर्धक्क पेस्तोल आफ्नो भएको स्वीकारेका थिए । ‘मैले भारतको लखनउ जाँदा सेकेन्डह्यान्ड पेस्तोल ५० हजार भारुमा किनेको हुँ’, दीपेन्द्रले भन्छन्– ‘त्यसलाई साथमा राखेर हिँड्थें ।’

हतियारसहित नेपालगन्ज उपमहानगरपालिका–१८ का सुशान्त केसी र कैलालीका द्वारिका उपाध्यायसमेत पक्राउ परेका छन् । उनीहरु वागमती प्रदेश ०१–०२५ च ३०९७ नम्बरको गाडीमा राप्ती पुलमा पुगेका थिए । त्यहाँ दीपेन्द्रले पेस्तोलबाट दुई राउन्ड फायर गरे । बन्दुकको आवाज सुनेपछि इलाका प्रहरी कार्यालय, वनकट्टी (क) का प्रहरी नायव निरीक्षक गोपाल शर्माको टोली घटनास्थल पुगेको थियो । त्यस क्रममा गाडी र तीन जनालाई जाँच गर्दा पेस्तोल, गोली र खुँडा फेला परेको थियो । बर्दियाको बाँसगढीसम्म गएर आएका उनीहरु उपाध्यायको जग्गा हेर्न मंगलबार साँझ डुडुवा पुगेका थिए । त्यही क्रममा दीपेन्द्रले दुई फायर गरेपछि पक्राउ परेका प्रहरीले जनाएको छ ।

सीमावर्ती जिल्ला भएकाले बाँकेमा भारतबाट सजिलै हतियार भित्रिने गरेको पाइन्छ । दीपेन्द्रले ल्याएको पेस्तोल नेपालमा नेपाली सेनासँग मात्रै रहेको बुझिएको छ । नेपालमा हतियार फेला परेमा मुलुकी फौजदारी संहिता–२०७४ को परिच्छेद ६ को दफा १३० को उपदफा २ बमोजिम ७ वर्षसम्म कैद र ७० हजार जरिवानाको व्यवस्था रहेको छ ।

प्रतिक्रिया दिनुहोस्