हरिसिद्धि नाचलाई ललितपुर महानगरको ५० लाख



ललितपुर ।

ललितपुर महानगरले ऐतिहासिक, सांस्कृतिक र धार्मिक महत्वको हरिसिद्धि नाचको अक्षयकोषका लागि दुईपटक गरेर ५० लाख हस्तान्तरण गरेको छ । ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले हरिसिद्धि त्रिशक्ति भवानी सेवा समितिका अध्यक्ष धनबहादुर महर्जनलाई बुधबार २५ लाखको चेक हस्तान्तरण गर्नुभयो । यसअघि महानगरले हरिसिद्धि नाचको अक्षयकोषका लागि २५ लाख हस्तान्तरण गरिसकेको छ ।

नगर प्रमुख महर्जनले अक्षयकोषका लागि दुईपटक गरेर ५० लाख हस्तान्तरण गरेको बताउनुभयो । उहाँले आर्थिक अभावका कारण नाच र जात्रा संकटमा नपरून् भन्दै अक्षयकोष स्थापनाका लागि महानगरले सहयोग गरेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘यी अमूर्त सम्पदाको संरक्षणले मूर्त सम्पदाको संरक्षणलाई समेत सहयोग गर्छ ।’ मूर्त सम्पदाअन्तर्गत देवालय, शिवालय, मठ मन्दिर पर्छन् ।

कार्यक्रममा ललितपुर महानगर वडा नं २८ का वडा अध्यक्ष राजेश महर्जनले आर्थिक अभावलमा नाच, जात्रा अब नरोकिएने बताउनुभयो । वडा नं २९ का वडा अध्यक्ष गणेश महर्जनले अक्षयकोष स्थापनाका लागि महानगरले गरेको सहयोग महत्वपूर्ण भएको बताउनुभयो । ललितपुर महानगरले कात्र्तिक नाचको अक्षयकोषका लागि १ करोड हस्तान्तरण गरिसकेको छ । महानगरले आर्थिक वर्ष २०७८/७९ को बजेटबाट ५० लाख हस्तान्तरण गरेको हो । अघिल्लो वर्ष महानगरले आर्थिक वर्ष २०७७/७८ को बजेटबाट ५० लाख हस्तान्तरण गरेको थियो ।

महानगर प्रमुख महर्जनले भन्नुभयो– ‘झन् अघिल्लो वर्ष मैलै कात्र्तिक नाचलाई १ करोडको अक्षयकोष बनाउन सहयोग गर्छु भनेको थिएँ, अघिल्लो वर्ष ५० लाख र अहिले ५० लाख हस्तान्तरण गरेँ, निकै खुसी छु ।’

खोकनामा देखाइने रुद्रायणी नाचका लागि महानगरले अघिल्लो र चालु आर्थिक वर्षका गरी अक्षयकोषका लागि ५० हाल हस्तान्तरण गरिसकेको छ । यसैक्रममा महानगरले दशैंका बेला देखाइने खड्ग जात्राको अक्षयकोषका लागि २५ लाख छुट्याएको छ । २४ वर्षसम्म स्थगित भएको यो जात्रा चार वर्ष अघिबाट देखाउन शुरु गरिएको छ । महानगर प्रमुख महर्जनले अक्षयकोष हुँदा जात्रा, नाचको निरन्तरतामा खर्च जुटाउन मुस्किल नहुने उल्लेख गर्नुभयो । कात्र्तिक नाच संरक्षण समितिका अध्यक्षकिरण चित्रकारले आर्थिक अभावमा नाच नरोकिने बताउँदै यसलाई बढाएर १० करोड पुर्याउने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्