एन प्याब्सनमा न्यौपानेको उम्मेदवारी घोषणा



काठमाडौं, (नेस) ।

राष्ट्रिय निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (एन प्याब्सन) को सातौं महाअधिवेशनमा वर्तमान महासचिव सुवास न्यौपानेले अध्यक्ष पदमा उम्मेद्वारी घोषणा गर्नुभएको छ । हिजो बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा वर्तमान महासचिव रहनुभएका न्यौपानेले सो घोषणा गर्नुभएको हो । यही फागुन २२ देखि २३ गते दुई दिनसम्म बाँकेको नेपालगञ्जमा आयोजना हुने सातौं राष्ट्रिय महाअधिवेशनमा निजी विद्यालयलाई सुदृढ र संगठित बनाउन आफुले उम्मेदवारी घोषणा गरेको जानकारी गराउनुभयो ।

न्यौपानेले उम्मेदवारी घोषणासँगै १३ बुँदे धारणा सार्वजनिक गर्नुभएको छ । उहाँले निजी विद्यालयको हक हित संरक्षण गर्न, सीपमूलक र जीवनउपयोगी शिक्षा उपलब्ध गर्न, निजी विद्यालयको समस्या र शैक्षिक मुद्दालाई तार्किक ढंगले अघि बढाउन सेवामूलक र व्यावसायिक संस्थाको रूपमा विकास गर्न, संस्थागत विद्यालयका शिक्षक, कर्मचारी र लगानीकर्ताको हक हित संरक्षण गर्न आफूले उम्मेदवारी घोषणा गरेको बताउनुभयो ।

उहाँले नीजि र सामुदायीक शैक्षिक संस्थाहरुबीचको सम्बन्धलाई पथ मजशुत बनाउन, शिक्षण सिकाइलाई व्यावसायीक विकासमा आबद्ध गराउन, राज्यप्रति दायीत्व बढाउन, प्राकृतिक प्रकोप र अन्य विपद् पर्दा स्थापना गरीएको प्राकृतिक विपद् कोषलाई प्रभावकारी रूपमा व्यवस्थापन गर्न आफूले उम्मेदवारी दिएको बताउनुभयो ।

उहाँले लामो समयसम्म एन प्याससनको उपल्लो पदमा बसिसकेको हैसियतमा आफू अध्यक्षको उम्मेदवारका लागि योग्य भएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘अहिले मैले एक्लै उम्मेदवारी घोषणा गरेको छु, अधिकांश साथीहरू मेरो प्यानलबाट उठ्ने बताउनुभएको छ, महाअधिवेशमै सबै टुङ्गो लाग्नेछ ।’

एन प्याब्सनका अध्यक्ष ऋतुराज सापकोटाले महाअधिवेशनमा देशभरका २ हजार ५ सय ६२ विद्यालयबाट करिब १ हजार ५ सय प्रतिनिधिले सहभागिता जनाउने बताउनुभयो । महाधिवेशनले ११ पदाधिकारीसहित ३५ जनाको कार्यसमिति चयन गर्नेछ ।

अध्यक्ष सापकोटाले सबैको सहमतिमा नयाँ नेतृत्व चयन गर्ने विषयमा छलफल भइसकेको बताउनुभयो । उम्मेदवारी घोषणा कार्यक्रममा पुर्व अध्यक्ष एवं प्रमुख सल्लाहका कर्णबहादुर शाही, उपाध्यक्ष श्यामसिंह मौली र कोषाध्यक्ष प्रताप थापाले अध्यक्षको उम्मेदवारी घोषणा गर्नुभएका न्यौपानेलाई शुभकामना दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्