सैनिक सहचारीद्वारा जंगी अड्डाको भ्रमण



काठमाडौं (नेस) ।

सेना दिवस २०७८ को अवसरमा आमन्त्रित आवासीय तथा गैर–आवासीय सैनिक सहचारीको भ्रमण दलले बुधबार जंगी अड्डाको भ्रमण गरेको छ । जंगी अड्‍डामा आयोजित कार्यक्रममा युद्धकार्य निर्देशनालयले भ्रमणदललाई नेपाली सेना सम्बन्धि विषयहरुमा प्रस्तुतिकरण गरेको थियो । प्रस्तुतिकरण पछिप्रधान सेनापति प्रभुराम शर्माले भ्रमणदलका सैनिक सहचारीहरूसँग भेट गर्नुभएको थियो ।

भ्रमणदलमा चीन, भारत, पाकिस्तान, बेलायत र संयुक्त राज्य अमेरिका गरी पाँच देशका आवासीय सैनिक सहचारी सहित बंगलादेश, क्यानडा, रसिया,फ्रान्स, जर्मनी, इन्डोनेसिया, इटाली, इजरायल, मेक्सिको, नाईजेरिया, म्यानमार, फिलिपिन्स, पोल्यान्ड, कोरिया, टर्की, सेनेगल, सुडान,युक्रेन, जाम्विया, रोमानिया र स्वीजरल्यान्ड गरी २१ देशका गैर आवासीय सैनिक सहचारीहरू सहभागी भएका थिए ।

नेपालको भ्रमणमा रहेको उक्त टोलीले नेपाली सेनाद्वारा महाशिवरात्री तथा सेना दिवस २०७८ को अवसरमा सैनिक मञ्च, टुँडिखेलमा आयोजना गरेको विशेष समारोहमा सहभागिता जनाएको थियो भने उक्त टोलीद्वारा बिहीबार माउन्टन फ्लाइट गर्नुका साथै लुम्बिनी र पोखरामा अवलोकन भ्रमण गर्ने कार्यक्रम रहेको छ । उक्त टोली शुक्रबार आ–आफ्नो कार्यक्षेत्र प्रस्थान हुने भएको छ ।

छिमेकी मित्रराष्ट्र तथा अन्य देशका सैनिक सहचारीको यस किसिमको भ्रमणले सैनिक कुटनितिमार्फत अन्तरदेशीय सम्बन्ध एवं सैनिक सम्बन्ध अझ सुमधुर र बृहत्तर पार्न थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्