वैदेशिक रोजगारीबाट गायनमा

0
Shares

पर्वत जिल्लामा जन्मेर काठमाडौंलाई कर्मथलो बनाउँदै आएका अर्जुन पन्त उमेरको उत्तराद्र्धमा आएर गायन क्षेत्रमा सक्रिय भएका छन्। स्कुल पढ्दा गायन प्रतियोगितामा सहभागी हुने गरेका पन्त पछिल्लो समय बाल कलाकारलाई गायन क्षेत्रमा भित्र्याएका कारण बाल प्रतिभाको खोजी गर्ने कलाकारका रूपमा चिनिन्छन्।

आर्थिक अवस्था कमजोर भएका कारण समयमै आफ्नो प्रतिभालाई समेत सबैसामु पुर्याउन असमर्थ भएका उनले त्यस्तो अवस्था अन्य प्रतिभाको नहोस् भन्नका लागि अवसर प्रदान गर्ने गरेका बताउँछन्। ‘वैदेशिक रोजगारीका लागि विदेश गएपछि आर्थिक अभाव कम हुँदै गयो र गीत रेकर्डिङ गर्न थालेँ। मेरोजस्तो हविगत अरुको नहोस् भन्नका लागि नयाँ प्रतिभालाई अवसर दिइरहेको छु’ उनले सुनाए।

पन्तले टिकटमा भेटिएकी बुटवलकी १२ वर्षीय बालिका सगुन आचार्य र पर्वतका ९ वर्षीय बालक अर्पण परियारलाई गायन क्षेत्रमा भित्र्याएका थिए। ‘सगुन र अर्पण लाई टिकटकमा गित गाएको देखेपछि आफैं सम्पर्क गरेर खोजेको हुँ। सबै क्षेत्रमा नयाँ पिढी आउनु आवश्यक छ’ पन्तको भनाइ छ।

हालसम्म करिब तिन दर्जन जति गीत गाइसकेका उनले चार वर्षको छोटो समयमा आफ्नै लगानीमा थुप्रै गीत बजारमा ल्याइसकेका छन्। २०७४ सालमा कुश्मा बजार नामक एल्बम निकालेका पन्तले क्रमशः २०७५ सालमा तीज गित रातो सारी रातै छ चुरा, सारा सपना, मनको भारि नामका एल्बम सार्वजनिक गरेका थिए भने २०७६ सालमा परदेशीको अँध्यारो संसार, तकदिर, तिज गीत दिदी भाइ, कस्तो लोकतन्त्र, जुनताराले, अपांग, पर्वत लिमिठानाको चिनारी जन्मभूमि नामका एल्बम सार्वजनिक गरेका थिए। उनले २०७८ सालमा गल्ती के थ्यो खोइ, सामाजिक रुढीवादीविरुद्धको गीत छुवाछुत, मौलिक रत्यौली गीत जिरे बजारमा ल्याएका थिए।