खेलमा रुसको बहिष्कार हुँदै



न्युज अफ नेपाल, काठमाडौं ।

रुसले यूक्रेनमा हमला गरेपछि चौतर्फी यसको विरोध भइरहेको छ । यही सन्दर्भमा खेलमा पनि यसको प्रभाव परेको छ । अन्तर्राष्ट्रिय जुडो महासंघले रुसका राष्ट्रपति भ्लादिमिर पुतिनलाई महासंघका अध्यक्ष पदबाट हटाइदियो । यसले पुतिनलाई ठूलो झट्का लागेको छ । उनी जुडोका ब्लेक बेल्ट खेलाडी थिए ।

पोल्यान्ड र स्वीडेनको बहिष्कार

पोल्यान्ड र स्वीडेनको फुटबल टिमले पनि रुसविरुद्ध फिफा विश्वकप २०२२ अन्तर्गत प्लेअफ खेल नखेल्ने निर्णय लिएका छन् । पोल्यान्ड र रुसबीचको प्लेअफ खेल मार्च २४ मा हुनेछ । यो खेल पोल्यान्डले बहिष्कार गर्ने बताइएको छ ।

पोल्यान्ड फुटबल संघका प्रमुख सेजरी कुलेस्जाले बताए-यूक्रेनमा रुसद्वारा आक्रमण गरेको कारण पोलिश राष्ट्रिय टिमले रुसविरुद्धको प्लेअफ खेल खेल्ने कुनै इच्छा छैन । हामी स्वीडेन र चेक गणराज्यसँग कुरा गरिरहेका छौँ । पोल्यान्डका कप्तान रोबर्ट लेवान्डोस्कीले यो निर्णयको समर्थन पनि गरेका छन् ।

कुलेस्जाको पोस्टलाई रिट्वीट गर्दै उनले लेखे-यो सहि निर्णय हो । म यस्तो स्थितिमा रुसी राष्ट्रिय टिमसँग खेल खेल्न कल्पना पनि गर्न सक्दैन, जब की यूक्रेनमा आक्रमण जारी छ । हामीले केही पनि भएको छैन भनेर देखाउन पनि सक्दैनौ ।

चेक र फ्रान्स पनि रुसविरुद्ध

यही क्रममा चेक गणराज्यले पनि रुसविरुद्धको खेल बहिष्कार गर्ने निर्णय लिएको छ । चेक फुटबल संघले विश्व फुटबल महासंघ (फिफा) लाई दवाव राखेको छ कि छिटै प्लेअफ खेलबारे निर्णय सार्वजनिक गर्नुपर्छ । विश्वकप २०२२ को युरोपको प्लेअफ खेल्न बाँकी छ । त्यस्तै फ्रान्स फुटबल महासंघका प्रमुख नोएल ले ग्राएटले रुसलाई विश्वकपबाट प्रतिबन्ध लगाइदिनु पर्ने बताए ।

यूनाइटेडले रुसी प्रायोजन छाड्यो

रुसको यूक्रेनमाथिको आक्रमणले गर्दा रुसका प्रायोजक कम्पनीहरुमा पनि घाटा हुन थालेको छ । यही क्रममा इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर यूनाइटेडले रुसी राज्य एयरलाइन एअरोफ्लोटको प्रायोजन छोडेको छ ।

यस्तै जर्मन फुटबल क्लब शाल्के ०४ ले पनि रुसको लोगो आफ्नो टिमको टी शर्टबाट हटाएको छ । शाल्के ०४ ले क्लबको लुगाबाट मुख्य प्रायोजकको लोगो हटाएको हो ।

केही प्रमुख घटनाक्रमहरु

२०२२ च्याम्पियन्स लिग फाइनल सेन्ट पिटर्सबर्गबाट पेरिसमा खेलाइने ।

-युरोपियन फुटबलको सर्वोच्च निकाय यूएफाले रुससँगको ३० मिलियन पाउन्डको सम्झौता अन्त्य गर्न गइरहेको ।

-सोचीमा आगामी सेप्टेम्बरमा हुने रुसको फोर्मुला वान ग्रान्ड प्रिक्स रद्द गरिएको छ ।

-अन्तर्राष्ट्रिय बास्केटबल महासंघले नेदरल्यान्डस् र रुसबीच २७ फेबु्रवरीमा हुनु पर्ने विश्वकप २०२३ छनोट खेल स्थगित गरेको ।

प्रतिक्रिया दिनुहोस्