पत्रकारिता र देश



  • मुक्तिबन्धु

लाग्छ, नेपालमा कतिपय ठूला मिडियाहरु नेपाल र नेपालीको हित–भलाइका पक्षमा चिन्तनशील र क्रियाशील छैनन् । उनीहरुलाई विशेषतः इन्डोअमेरिकी हितको चिन्ता छ । एमसीसी पारित नहोला कि भन्ने चिन्ता छ । मुलुकमा विगत केही महिनाबाट अर्थराजनीतिक वृत्तमा एमसीसीको व्यापक आक्रमण छ । शीर्ष राजनेताहरु र तिनका पिछलग्गुहरु शेरबहादुरको नेतृत्वमा परिबन्ध मिलाएर मुलुकको सार्वभौमिकता र स्वाधीनता इन्डोअमेरिकी हातमा सुम्पिने ध्याउन्नमा छन् । देशभक्त जनता ‘एमसीसी चाहिँदैन, देश बेच्न पाइँदैन’ भन्दै आन्दोलित बनेर सडकमा उत्रेका छन् । गठबन्धन सरकार एमसीसीका इसारामा लाठी, गोली, अश्रुग्यास र फोहोरा लिएर व्यापक दमनमा उत्रेको छ ।

जनता देश नबेचियोस् भन्दै चिच्याएका छन्, कराएका छन्, रोएका छन् । सरकार सृजित अभूतपूर्व आतङ्ंकको वातावरण छ मुलुकमा । सत्तासीनहरुले देश अहिले बेच्लान् कि भरे बेच्लान्को शङ्कामय वातावरण छ । शेरबहादुर, ओली र माधव नेपालले मिलेर मध्यरातमा महाकाली बेचेकै हुन् । आज पनि डाडु–पन्यू तिनकै हातमा छ । अझ भनौँ मुलुक र जनताको घाँटी सेर्ने छुरी तिनकै हातमा छ । जब मानिसहरु निदाउँछन् तब राक्षसहरु सल्बलाउँछन् । नरभक्षी राक्षसहरु जागेका मुलुकमा जनताका लागि ढुक्क हुन सकिने क्षण कुनै रहँदैन ।

यो यस्तो भयावह अवस्थामा मुलुकका कतिपय ठूला मिडियाहरु ‘एमसीसी अनुमोदन अझै अन्योलमा !’ भन्दै एमसीसी पारित नभएर मुलुकको सार्वभौमिकता र स्वाधीनता कायमै रहने हो कि भन्ने चिन्तामा डुबेको आभास दिन लाज नमानिरहेका देखिन्छन् । मुलुकको चेतना र सुरक्षाका जिम्मा लिएकाहरुबाटै मुलुक यतिसम्म असुरक्षित भएपछि जनताको भोक–निद्रा हराउनु स्वाभाविक भएको छ । मानिसहरु आज देश बेच्नै पर्छ भन्ने एमसीसी पक्ष र बेच्न हुँदैन भन्ने देशभक्ति पक्षमा विभाजित भएका छन् । यो भयावह स्थितिमा मुलुकका मिडियाहरु कता छन् त ? पत्रकारहरु कता छन् त ? देश बेच्नुपर्छ भन्ने पक्षमा छन् कि मुलुक जोगाउनुपर्छ भन्ने पक्षमा छन् ? एमसीसीको पक्षमा छन् कि एमसीसीको विपक्षमा छन् ? यो हामी जनताका लागि चासोको विषय हो ।

कहाँ उभिएर प्रश्न गर्छन् पत्रकारहरु ? कहाँ उभिएर लेख्छन्/बोल्छन् बुद्धिजीवीहरु ? नेपाल र नेपालीको हित–भलोका निमित्त राष्ट्रियता र देशभक्तिको भूमिमा उभिएर लेख्छन्/बोल्छन् कि परचक्रीबाट वितरित प्रलोभनको लोभलालसामा डुबेर लेख्छन्/बोल्छन् ? यो जनताले जान्न, बुझ्न र हिसाब राख्न सक्रिय रहनुपर्ने कुरा नै हो ।
आज एमसीसीका कर्मकाण्डी पण्डाहरु र ठूला मिडियाका पत्रकार दुवै थरीको एउटै आवाज सुनिनु जनताका लागि रमाइलो कुरा होइन । यी दुवै थरी भन्छन्– एमसीसी त विकास परियोजना हो । जनप्रतिनिधि भएर, बुद्धिजीवी भएर कसैले एमसीसीको विरोध गर्न मिल्छ ? हामीलाई विकास चाहिएको छैन ? बिजुली चाहिएको छैन ? सडक चाहिएको छैन ?

एमसीसीले बिजुली र सडकको राम्रो व्यवस्था गर्छ भन्दा तपाईं त्यसको किन विरोध गर्नुहुन्छ ? तपाईं नेपालमा बिजुली नबलोस्, सडक नबनोस् भन्ने चाहनुहुन्छ ? यसै गरी ती दुवै थरी लाजै नमानी भन्छन्– एमसीसी विकास परियोजना लागू भएपछि जनताले काम पाउँछन्, पैसा पाउँछन्, गरिबी हट्छ, पचास लाख घरधुरीले लाभ पाउँछन्, दुई करोड चालीस लाख जनताले बिजुली पाउँछन्, करोडौँ नेपालीले काम पाउँछन् । यस्ता शतप्रतिशत झुट्टा बकबासका आधारमा उभिएर बोलेका, लेखेका र प्रश्न गरेका सुनिन्छन् कति मिडियाहरुमा । एमसीसीका निहित अभिप्राय बुझ्ने र यथातथ्य केलाएर बोल्ने कतिपय नेता तथा बौद्धिक व्यक्तिहरुलाई ठाडो भाषामा ‘तपाईं एमसीसीले राष्ट्रघात गर्छ भन्नुहुन्छ, कहाँ लेखेको छ एमसीसीमा राष्ट्रघात ? अमरिकी सेना आउँछ भनेर कहाँ लेख्या छ ? बिजुलीको तारमा झुन्डिँदै आउँछ अमरिकी सेना ? तपाईं जनतामा भ्रम पैmलाउने ? इन्डोअमेरिकालाई हेप्ने ? हामीलाई वर्षौंदेखि सहायता दिँदै आएको शक्तिराष्ट्रलाई हेप्ने ?’ एमसीसीका दक्षिणाभिमुखी पण्डा र केही पत्रकार महोदयका यी यस्ता प्रश्नहरु कहाँ टेकेर गरिएका प्रश्न हुन सक्छन्् ?

एमसीसी सदनमा टेबुल गरेर सांसदहरु, मन्त्रीहरु बाहिर निस्कँदा पत्रकारहरुको दगुरादगुर भव्य देखिन्थ्यो, बालकलाई चाडबाड आएजस्तो । गगन थापालाई प्रश्न गर्दा ‘दाइ ! टेबल त भयो, अब कहिले परित हुन्छ ? अवरोध होलाजस्तो छ कि छैन ? एमालेले के गर्छ ?’ यस्ता प्रश्न गर्ने । भीम रावललाई प्रश्न गर्दा ‘एमसीसीविरुद्ध बोल्ने त तपाईं मात्र हुनुभयो, तपाईंका समर्थक तपाईंका पार्टीमा छैनन् ? तपाईं एकजनाले एमसीसी रोक्न सक्नुहुन्छ त ? पार्र्टी नीति विपरीत बोलेर तपाईंले पार्टी अनुशासन मान्नुभएन । पार्टीले कारबाही ग¥यो भने तपाईं के गर्नुहुन्छ ? माधव नेपालले पनि सएमसीसी समर्थन गर्नुभएपछि तपाईं कहाँ जाने ?’ यस्ता खालका प्रश्न गरिन्छन् भने यी यस्ता प्रश्नहरु कुन अभिप्रायले कहाँ उभिएर गरिएका प्रश्न हुन सक्छन् ?

एमसीसी पक्षधरहरुलाई उत्साहित गर्ने र एमसीसीविरुद्ध उभिएकालाई हतोत्साहित गर्ने अभिप्रायका प्रश्नहरु मात्र किन गरिन्छन् ? त्यस्तै लेख–रचना र अन्तर्वार्ता मात्र प्रकाशन किन गरिन्छन् ? एमसीसीबाट पालित–पोषित बुद्धिजीवीलाई मात्र खोजी–खोजी स्टुडियोमा ल्याएर बोल्ने अवसर किन दिइन्छ ? यी सजिलै बुझ्न सकिने कुरा छन् ।

एमसीसीका प्रावधानहरु त देश र जनताका लागि घातक देखिन्छन् । नेपाली जनप्रतिनिधि भएर त्यस्तो भयङ्कर घातक सम्झौता पारित गर्न तपाईंको कर्तव्य र नैतिकताले मिल्छ ? गगन थापालाई कुनै पत्रकारले यस्तो प्रश्न गरेको त सुनिएन । देश र जनताभन्दा तपाईंको गठबन्धन ठूलो हो ? गठबन्धन भत्केला भन्ने डरले मुलुकको सार्वभौमिकता र स्वाधीनता इन्डोअमेरिकी कम्पनीलाई सुम्पन खोज्ने तपाईं कसको प्रतिनिधि ? भनेर प्रचण्ड र माधव नेपाललाई कुनै पत्रकारले प्रश्न गरेको सुनिएन । भीम रावलले सदनमा एमसीसीको विरोधमा बोले भनेर तपाईंको मुटुमा भक्कानो छुट्ने किन ? किन भट्टराईलाई सभामुखसँग गुनासो गर्न लगाउनुभयो ? केपी ओलीलाई कुनै पत्रकारले यस प्रकारको प्रश्न गरेको सुनिएन । के यस्ता प्रश्न हुनै सक्दैनन् ?

एकाध देशभक्त पत्रकारलाई छोडेर बाँकी धेरैजसो पत्रकारले नेपाल भूमिमा टेकेर प्रश्न गरेको सुनिदैन । बरु एमसीसीको डलरमा टेकेर प्रश्न गरेको सुनिन्छ । के एमसीसी नै हाम्रा ती जाँगरिला पत्रकारहरुको देश हो ? कि पत्रकार भएपछि देश चाहिँदैन ? जिज्ञासा जागेको छ ।

तपाईं यति ठूलो क्रान्तिकारी इतिहास भएको नेता । आज आएर एमसीसीको सवालमा जनतामाथि भयङ्कर गद्दारी गर्दै हुनुहुन्छ । यसमा तपाईंलाई हीनताबोध छैन ? गल्ती गर्दै छु जस्तो लाग्दैन ? लाग्दैन भने किन लाग्दैन ? प्रचण्डलाई कुनै पत्रकारले यस किसिमको प्रश्न गरेको सुनिएन । जनयुद्धमा प्रचण्डको हाराहारीमा तपाईंको चर्चा थियो । युद्धको नेतृत्व गर्नुभयो । शान्तिप्रक्रियामा भारतलाई पनि सामेल गराउनुभयो । प्रधानमन्त्री बन्नुभयो । संविधानसभाको अध्यक्षता गर्नुभयो । जनताले यतिसारो पत्याएको मान्छे पत्यारको इतिहास सबै च्यातेर इन्डोप्यासिफिक रणनीतिका पक्षमा दगुर्दा तपाईंलाई अमानुषिकताबोध हुँदैन ? डा. बाबुराम भट्टराईलाई सोध्नै पर्ने यस किसिमका प्रश्न कुनै पत्रकारले सोधेको सुनिएन ।

एमसीसी पारित मात्र गर, नेपाली जनतालाई ठीक पार्ने काम हामी गर्छौं । अमेरिकाले सत्तासीनहरुसँग यस्तो पनि भन्यो भन्ने प्रचारमा आएको थियो । के अमेरिकाले यस्तो भन्न मिल्छ ? तपाईंले प्रतिवाद गरेको त सुनिएन, किन ? रुपचन्द्र विष्ट भन्नुहुन्थ्यो, ‘लोभ र डर जुम्ल्याहा हुन् ।’ के तपाईंलाई अमरिकासँग डर लाग्छ ? कि अमेरिकाका एक–एक क्रियाकलाप र एक–एक शब्दको माया लाग्छ ? यथार्थ के हो ? कुनै पत्रकारले प्रधानमन्त्री शेरबहादुरसँग यस्तो प्रश्न गरेको सुनिएन । नेपालीहरु गरिब छन् तर राष्ट्रघाती छैनन् भन्ने तपाईंलाई लाग्दैन ? तपाईं सम्झौताका दफा–दफा राम्ररी नपढीकन, देशभक्त बुद्धिजीवीहरुलाई राखेर छलफल नगराईकन अमेरिकी बेतनभोगी कहलाएका कथित बुद्धिजीवीले भनेका भरमा एमसीसीजस्तो घातक प्रकृतिको सम्झौता पारित गराउन किन मरिहत्ते गर्नुहुन्छ ? यो शेरबहादुर देउवालाई सोध्नै पर्ने प्रश्न होइन ? खै, कुनै पत्रकारले यस्तो प्रश्न साधेको सुनिएन । किन ?

साँच्चै पत्रकारहरुको देश हुँदैन ? राष्ट्रियता हुँदैन ? पत्रकार भएपछि देशको सार्वभौमिकता र स्वाधीनताप्रति कुनै चासो रहँदैन ? माफ गर्नुहोस्, आज मैले ठाडो बोलेँ । चित्त दुखेर बोलेँ । मेरो विचारमा पत्रकारको पनि देश हुन्छ ? नेपालका कति पत्रकारको प्रश्न, अडान र भावभङ्गी देख्दा ती नेपालका होइनन्, अमेरिकाबाट भर्खरै नेपाल उत्रेका नेपालीभाषी अमेरिकी हुन् कि जस्तो लाग्छ । यस्तो किन लाग्छ ? किन केही पत्रकारहरु म यो देशको होइन, अमेरिकाकै हुँ जसरी एमसीसीको पक्ष लिएर प्रश्न सोध्छन् । अमेरिकी अडान राखेर प्रश्न सोध्छन् । उदेक लाग्छ ।

म फेरि पनि भन्छु, जनतताले एक–एक कुराको हिसाब राख्छन् । एमसीसी पक्षधर को–को हुन्, नेपालको पक्षधर को–को हुन् ? जनताले एक–एक हिसाब राख्छन् । जनता पत्रकार होइनन् र पनि जनताले मर्म बुझेर प्रश्न गर्न पनि जानेका छन् ।

बूढापाका, विज्ञ, देशभक्त व्यक्तित्वलाई प्रश्न गर्दा पनि कतिपय पत्रकार झपार् शैलीमा सोध्छन्– तपाईंले एमसीसी पारित गर्न सघाउनुपर्दैन ? यो तपाईंको जिम्मेवारी होइन ? शक्तिराष्ट्रसँग सम्बन्ध बिगार्न हुँदैन भन्ने तपाईंलाई थाहा छैैन ? लिम्पियाधुरा नेपालको हो भने तपाईं त्यहाँ लड्न किन नगएको ? तपाईंले भारतसँगको सुमधुर सम्बन्ध बिगार्न चाहेको हो ? रोटीबेटीको सम्बन्ध छ भन्ने तपाईंलाई ज्ञान छैन ? भन्नुहोस्, स्पष्ट भन्नुहोस्, तपाईंको राष्ट्रवाद खोक्रो राष्ट्रवाद होइन भन्ने के प्रमाण छ ? तपाईंले एमसीसी सदनमा लान हुँदैन भन्न मिल्छ ? पारित गर्न दिइँदैन भन्न मिल्छ ? तपाईंसँग नैतिकता छैन ? हिजोआज कति पत्रकारले मिडियामा आफ्ना अगाडिका मानिसलाई सोध्ने प्रश्न यी र यस्तै–यस्तै रहेका पनि सुनिन्छन् । यस्ता प्रश्न सोध्ने पत्रकारको देश नेपाल होलाजस्तो कसरी लाग्नु ? यी प्रश्नमा नेपालबोध छैन । नेपालप्रति संवेदनशीलता छैन । माया छैन । भाषा नेपाली बोल्छन् । यिनीहरुको भाषामा नेपाल छैन । यिनीहरुको देशचाहिँ कुन होला ? यस्ता जिज्ञासा मेरा मनमा उठिरहन्छन् ।

मिडिया समाचार प्रसारणको माध्यम पनि हो । तर पनि समाचार आएपछि कहाँबाट आयो, कसले पठायो, समाचार सही हो कि होइन, प्रचार गर्नु ठीक छ कि छैन, छानबिन नगरी प्रचार गर्नुले के जनाउँछ ? देश र जनतालाई हानि हुने लेख–रचना, अन्तर्वार्ता र समाचार प्रसारण गर्नुले के जनाउँछ ? उत्तर सबैलाई थाहा छ ।

नेपालमा नेपाल र नेपालीको हित चाहने स्वाभिमानी र मर्यादाशील पत्रकारहरु छँदै छैनन् भन्ने कुरा होइन । छन्, इमानदार, नैतिक र देशभक्त पत्रकार पनि छन् । ती थोरै छन् । नेपाल र नेपालीको स्वाधीन अस्तित्व थाम्ने पत्रकार तिनै हुन् । नेपाल र नेपालीले हार्दिक अभिनन्दन अर्पण गरिने पत्रकार तिनै हुन् । भोलि स्वर्णाक्षरमा लेखिने इतिहास तिनैको हुनेछ ।

प्रतिक्रिया दिनुहोस्