अनुगमन समितिले काम गरेन: इसिडीका सबै पुस्तकमा मनलाग्दी दर,सरकार रमिते 


काठमाडौं । 

 पाठ्यक्रम विकास केन्द्रको कमजोर अनुगमनको कारण बजारमा पाइने अतिरिक्त र इसिडीका पाठ्यपुस्तकको दरमा मनोमानी देखिएको छ । अर्थात् सबले कालाबजारी गरिरहेका छन् ।स्वीकृत दिने निकाय रमितेबन्दा पुस्तकको दर आकासिएको छ । सरकारलाई पाठ्यपुस्तकमा भएको वेतिथिको बारेमा  जानकारी गराउँदा खासै अनुगमन हुन सकेको छैन । 

 स्वीकृत वेगरका पाठ्यपुस्तक धमाधम बिक्री भइरहेको छ  भने स्वीकृत मूल्यभन्दा झन्डै ६० प्रतिशत रकम बढी राखेर बेचबिखन भैरकेको छ । पाठ्यपुस्तकमा कालोबजारी भइरहेको विषयमा सम्बन्धित निकायलाई जानकारी हुँदा पनि चुप लागेर बसेको अवस्था छ । 

 पाठ्यक्रम विकास केन्द्रसँग स्वीकृति नलिएका प्रकाशकले पाठ्यक्रम विकास केन्द्रले तोकेभन्दा झन्डै सत्प्रतिशत बढी मूल्य राखेर पाठ्यपुस्तक बिक्री गरिरहेका छन् । केही प्रकाशकले मनोमानी मूल्य राखेर खुलायाम पाठ्यपुस्तक बिक्री गर्दा कारबाही गर्ने निकाय मौन छ । ती बिक्रेताको कारण मापदण्ड अनुसार मूल्य राखेर बिक्री गर्ने प्रकाशक पलायन हुनुपर्ने अवस्था छ । पाठ्यक्रम विकास केन्द्रले मुख्य विषयकामात्र छपाई स्वीकृति दिने गरेको छ । अतिरिक्तको लागि छपाई स्वीकृति लिनुपर्ने व्यवस्था छैन तर शुल्क मापदण्ड लागू हुन्छ । 
 
केन्द्रले स्वीकृत नदिएपनि शुल्क अनुगमन गर्न सकेको छैन । नर्सरी एलकेजी,युकेजी कक्षामा बच्चालाई पढाउनै नपर्ने पुस्तकको मूल्य  छोइनसक्नु छ । नाम चलेका निजी प्रकाशकले समेत कालोबजारी गरेको फेला परेको छ । 
निमा पुस्तक प्रकाशनले अंग्रेजी  ग्रामर र कम्प्युटर विषयमा आफूखुसी मूल्य  राखेर बिक्री गरिरहेको छ । न्युज अफ नेपाललाई प्राप्त कक्षा ७ को २ सय ६२ पेज पुस्तकको मूल्य  ४८० रुपियाँ उल्लेख छ । पाठ्यक्रम विकास केन्द्रले निर्धारण गरेको सो पुस्तकको मूल्य  ३८० पर्छ । तर निमाले ४८० रुपियाँ राखेको छ । 

 यो विषय केन्द्रलाई जानकारी भएपनि कारबाही गर्न सकेको छैन । अनुगमन गर्ने जिम्मा शिक्षा तथा मानवस्रोत विकास केन्द्रको हो । तर गुणस्तर र दररेट सहित स्वीकृत दिने जिम्मा पाठ्यक्रम विकास केन्द्रको हो । स्वीकृत दिएको पाठ्यपुस्तकको अवस्था कस्तो छ । बढी रेटमा बेचेको छ कि छैन लगायत विषयमा अनुगमन गर्न सकेको छैन । अहिले त पाठ्यक्रम  विकास केन्द्रको काम स्वीकृत दिनेमात्र भएको छ । बजारमा ब्यापक कालोबजारी हुँदासम्म खासै अनुगमन छैन । 

स्वीकृत दिएका अनिवार्य र अतिरिक्त सबै प्रकाशकको पुस्तक केन्द्रमा झिकाएर अनुगमन गर्ने अधिकार केन्द्रलाई छ । तर गर्न सकेको छैन । शिक्षा तथा मानवस्रोत विकास केन्द्रले विद्यालयमा अनुगमन गरी स्वीकृत नलिएका पुस्तक नपढाउन निर्देशन दिन सक्छ । तर आट गर्न सकेको छैन । 

  कक्षा सञ्चालन हुनै लाग्दा अभिभावकको ढाड सेकिनेगरी पुस्तकको मूल्य  बढाउँदा नियामक निकाय चुप लागेको छ । पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक युवराज पौडेलले अनुगमन भइरहेको जानकारी दिए । भने–धमाधम अनुगमन भइरहेको छ । गलत भेटे कारबाही गर्नेछौ । 

 उहाँले भनेजस्तै अनुगमन भएपनि कारबाही हुन सकेको छैन । उच्चस्रोतका अनुसार केन्द्रलाई यस विषयमा सबै जानकारी छ । तर कारबाही गर्ने आट गरेको छैन । बजारमा बिक्री भएका इसिडिका पुस्तकको दर छोइनसक्नु छ । विद्यालयलाई बढी कमिसन दिने चक्करमा प्रकाशकहरुले दर बढाबढ गर्ने गरेका छन् । 

 केन्द्रले तोकेको  सानो पुस्तकको दर प्रतिपेज १ रुपियाँ  ४५ र एफोर साईजको १ रुपियाँ ५० पैसा हो ।  तर नर्सरी एलकेजी, युकेजी र केही ठुला प्रकाशकले मुल विषयबाहेक अतिरिक्तमा  मनपरी शुल्क राखेर कालोबजारी गरेको फेला परेको छ । अनुगमनको क्रममा नर्सरीदेखि युकेजीको पुस्तक  प्रकाशन गर्ने जेबीडि,लिट्टलबर्ड,ओ.आइ पब्लिेकेशनले बिक्री गरेको पुस्तकको मूल्य अत्याधिक छ । अर्थात् अभिभावक ठग्नकै लागि पुस्तक प्रकाशन गरेको जस्तो देखिन्छ । 

 जेबिडि पब्लिकेशनले प्रकाशन गरेको युकेजीको १२० पेजको लर्निङ किटको ३२५ मूल्य  राखेको छ । मापदण्ड अनुसार उक्त पुस्तकको मूल्य  १८० रुपियाँ  पर्छ। यो प्रकाशनले प्रकाशित गरेको इसिडिको सबै तहको पुस्तकको मूल्य  झन्डै  ८० प्रतिशत बढी छ । त्यस्तै २६४  रुपिा पर्ने पुस्तकको मूल्य ४५० ,२२८ रुपियाँ पर्ने पुस्तकको ४००, १५५ पर्ने पुस्तकको मूल्य ३२५ उल्लेख गरेको छ । 

 त्यस्तै ओआइ पब्लिकेशनले पनि सोही आधारमा मूल्य  राखेको छ । 

 १४० पेजको २ लेभल २ अर्लि सोसल साईन्सको मूल्य  ४०५,  सोही १४४ पेजको ४१५ रुपियाँ  राखेको छ । १४० पेजको मूल्य २१० रुपियामात्र पर्छ । केन्द्रले सानाकक्षाको स्वीकृत दिने व्यवस्था नभएपनि शुल्क मापदण्ड यथावत रहेको जिकीर गरेको छ । इसिडिका अधिकांस पुस्तक बिक्रेताले बढी मूल्य  कायम गरी सरासर ठगी गरिरहेका छन् । यस्ता प्रकाशकको कारण सबै प्रकाशकले कालाबजारी गरेको जस्तो देखिएको छ ।

 एक पुस्तक प्रकाशकले भने–केही प्रकाशकको मनपरी मूल्यको  कारण देशैभर समस्या परेको छ ।  हामीले त शुल्क अनुगमन गर्ने विषयमा  हरेक पटक मन्त्रालयलाई झक्झकाउछौ तैपनि सुनेको छैन–एक प्रकाशकले न्युज अफ नेपालसँग भने  । 

 यस विषयमा कारबाही गर्न माग गर्दै शिक्षा सचिव,पाठ्यक्रम विकास केन्द्र र शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक समक्ष कुरा राखेका थियौ सुनुवाइ भएन–नाम नलेखिदिन आग्रह ती प्रकाशकले भने ।

 वास्तबमा इसिडिका ६ वर्ष मुनी उमेर समूहका बच्चालाई खेलाउँदै पढाउदै गर्ने हो । किताब बोक्नै पाईदैन । तैपनि अधिकांस इसिडी कक्षा सञ्चालन गर्नेले कमाऊ धन्दा गर्दै जबरजस्ती पाठ्यपुस्तब भिडाउने गरेको अभिभावक संघ नेपालका पूर्वअध्यक्ष सुप्रभात भण्डारीको भनाई छ ।