विद्याभूषण सेमिफाइनलमा



धनगढी ।

धनगढी मेयर लिटल फ्लावर प्रिमियर लिग–६ अन्तर्गत विद्याभूषण गेटाले सेमिफाइनलमा स्थान पक्का गरेको छ । विद्याभूषणको जितपछि लिटल फ्लावर उपाधि होडबाट बाहिरियो । विद्याभूषणले स्टेपिङ स्टोन माथि ८७ रनको जित निकालेको हो । टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको विद्याभूषणले अर्जुन साउद र वीरेन्द्र नाथको उत्कृष्ट पारीसँगै निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ८६ रन बनायो ।

१ सय ८७ रनको विजयी लक्ष पाएको स्टेपिङ स्टोनले १९.१ ओभरमा सबै विकेट गुमाएर ९९ रन मात्र बनाउन सक्यो । स्टेपिङका लागि दिनेश ओडले ३१, कप्तान अभिषेक कुवरले २१, विशाल विष्टले १२ र वीरेन्द्र चन्दले १० रन मात्रै बनाउन सके । बलिङतर्फ विद्या भूषणका वीरेन्द्र नाथले ४, रोशन थापाले २, अर्जुन साउद, नरेन साउद, प्रवेश बुढ्थापा र वीरेन्द्र बमले समान १/१ विकेट लिए ।

यसअघि, विद्या भूषणका लागि विस्फोटक पारी खेलेका अर्जुन साउदले ३८ बलमा ८ छक्का र ७ चौकको मद्दतले ८९ रन बनाए । वीरेन्द्र नाथ ४७ बलमा ५४ रन बनाएर आउट भए । प्रदीप चन्दले १४ रन बनाए । बलिङतर्फ स्टेपिङका कप्तान अभिषेक कुवरले ४ र आयुब चन्दले १ विकेट लिए ।

खेलको ‘प्लेयर अफ दी म्याच’ वीरेन्द्र नाथ घोषित भए । सर्वाधिक छक्काको अवार्ड अर्जुन साउदले पाउँदा गेम चेन्जर अवार्ड अर्जुन साउँदले नै पाए । यसअघिको खेलमा लम्कीको गुरूकुल स्कुललाई ८ विकेटले पराजित गर्दै लिटल फ्लावर स्कुल विजयी भयो । टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको गुरूकुलले १७.५ ओभरमा आफ्ना सबै विकेट गुमाएर ८५ रन मात्रै बनाउन सक्यो । ८६ रनको सामान्य लक्ष्य पछ्याएको लिटल फ्लावरले ५.२ ओभरमा २ विकेट गुमाएर लक्ष्य भेट्टायो ।

प्रतिक्रिया दिनुहोस्