देश एमसीसीको फन्दामा घेरिँदा दुखेको मन



  • केशव अधिकारी

हाम्रो यो सानो र स्वर्गजस्तो सुन्दर देश एमसीसीको फन्दामा जकडिइसकेको छ । एमसीसी लागू गर्ने बारेको तथ्य कुरा थाहै नपाई हाम्रा नेताहरुले एमसीसीको प्रस्ताव राख्नु धेरै नै अदूरदर्शी काम थियो । त्यस बेला एमसीसी सम्झौतालाई कार्यान्वयन गराउँछौँ भनेर हस्ताक्षर गर्ने नेता भनाउँदाहरु पनि एमसीसीले आजका दिन बोलाउँछ भन्ने कुरामा बेखबर नै थिए । उनीहरुको वास्तविक सोचाइ देशहितको नभएर अमेरिकाले एमसीसी परियोजनामार्फत दिने भनेको ५५ अर्ब रकममध्ये केही रकमले यसो देखावटी विकास निर्माणका काम गरेर आमजनताका आँखामा छारो हालौँला अनि धेरैजसो रकमचाहिँ गोजी भरौँला भन्ने थियो । यही विचारका साथ उनीहरु एमसीसीको उपादेयता पुष्टि गर्दै थिए । तर आज आएर एमसीसी पास गर्ने बेलामा सबैको एकमत हुनै सकेन । आमजनताले एमसीसी पास गर्ने कुराको घोर विरोध गरे । कति अलि सूरा जनताले एमसीसी पास गराउनको लागि पहल गर्ने नेताको ज्यान मार्ने धम्कीसमेत दिन भ्याए । करोड जनताको एमसीसीविरुद्धको आवाजलाई प्रधानमन्त्री शेरबहादुर देउवाले जेल हालेर दबाउँछु भन्ने सोचेका हुन सक्छन् । तर प्रमको त्यो सोचको थोरै पनि परबाह नगरी आमनागरिक एमसीसी पासको विरुद्धमा उभिएका देखिए । सत्तारुढ दलका नेता र कार्यकर्ताबाहेक सबैजसो नागरिकको अवधारणा केलाउँदा एमसीसी परियोजना पास गराउने हेतुको विरुद्धमा रहेको छ । तैपनि प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार अब एमसीसी पास गराएरै छोड्छु भनेर जबरजस्ती गर्न थालेका छन् । यदि एमसीसी पास भएन भने एमसीसीमार्फत आएको पैसा आफूहरुले हसुरेर पचाउन नसकौंला कि भन्ने डरले त्रस्त छन् । एमसीसी पास गरेमा जनताले आफूहरुलाई सिध्याउने पो हुन् कि भन्ने पनि आशङ्का बढेको छ । एमसीसी पास नगराउँदा पनि अमेरिका रिसाउला र विविध हतकण्डा अपनाएर भए पनि नेपाललाई दुःख देला, त्यो दुःखको सबै दोष आफूले भोग्नुपर्ला कि भन्ने भयले त्रस्त भइरहेका छन् ।

यसरी यो सुन्दर सानो देशको अस्मिता अमेरिकाजस्तो ठूलो देशको चेपुवामा परेको छ । लाखौँ होइन, करोडौँ जनले एमसीसी सम्झौता नेपालका लागि फाइदाजनक नभएर हानिकारक छ भनिरहेका बेला केही चाटुकार नेताहरु अझै पनि आमजनतालाई झुक्याएर खाएको पैसा पचाउन सकिन्छ कि भनेर बेला–बेलामा एमसीसी पासको बारेमा आमजनतामा भ्रम फैलाउने गरी एमसीसीको पक्षमा विभिन्न अभिव्यक्ति दिइरहेका छन् । तर कसैले पनि उनीहरुका हचुवा भनाइ सुनिरहेका छैनन् । बरु एमसीसी पासको विरुद्धमा बोल्नेहरु आमजनता र तिनका प्रतिनिधितिर भने आमजनताको चासो र सहानुभूति क्रमशः बढ्दै गइरहेको छ । यो बढाइले एमसीसी पासको विरुद्धमा आवाज बुलन्द गर्नेहरुको हौसला निकै बढेर जान थालेको छ ।

एमसीसी परियोजना पासको पक्ष र विपक्षमा वाकयुद्ध शुरु हुन थालेपछिका दिनमा आमनेपाली नागरिकको मानसपटलमा एउटा नजानिदो त्रासले छोप्न थालेको छ । पाए भने देशै बेचेर खाने स्वभावका हाम्रा नेताहरुको आमजनताले भरोसा गर्न छोडेका छन् । के थाहा, भोलिका दिनमा बलजफतका साथ एमसीसी पास गराएरै छोडेर नेपालमा पनि अमेरिकन नियम कानुन लागू भयो भने हाम्रा छोरी–बुहारी दिउँसै बलात्कृत भएका दृश्यहरु हामीले कसरी हेर्न र सहन सकौला ? भनेर धेरै चिन्ता लिन थालेका छन् । पास नभैदिए हुन्थ्यो भनेर कतिले देवाताको मन्दिरमा गएर पूजाआजा गर्दै भगवान्सँग भरोसाको माग गरेका छन् । कैयौंले आफ्नो ज्यानको बाजी लगाएरै भए पनि एमसीसी पास गर्नबाट रोकेरै छोड्ने प्रतिबद्धता जाहेर गर्दैै सबैलाई हौसला प्रदान गरेका छन् ।

आज यसरी एमसीसी पासको विषय आमनेपाली जनताको चिन्ता र चासोको विषय बन्दै जान थालेको छ । यो चिन्ता र चासो बढ्नु भनेको पनि स्वाभाविक प्रतिक्रिया नै हो ।

अर्को पक्षतिर नजर दिँदा देशको धेरै माया गर्ने नेपाली जनलाई देशको भविष्य के होला भन्ने चिन्ताले पिरोलेको छ । यस देशले कुनै छोटो कालखण्डमा थोरै मात्रमा भएका देशभक्तिपूर्ण कामलाई अपवादको रुपमा मानेर हेर्ने हो भने देशले चाहेको जस्तो देशभक्त र कुशल शासक कहिल्यै पनि पाउन सकेन । नत्र संसारले सुन्दर ठानेर प्रशंसा गरिएको, अथाह रुपमा प्राकृतिक साधन र स्रोतले भरिएको यो हाम्रो मातृभूमि विदेशीको कब्जामा जाने हो कि भन्ने चिन्ताले पिरोल्न थालेको छ । भारतमा बेलायतले उवनिवेश खडा गरेर, आफ्नो साम्राज्यवादी शासनलाई बलियो बनाएर आम भारतीय जनताले उसैको गुलाम बन्नुपरेको तीतो यथार्थ आमनेपालीले नजिकैबाट देखे, भोगेका र सुनेका छन् । यो रहस्य थाहा पाएकाहरुलाई कतै हाम्रो देशको भविष्य पनि त्यसै हालतबाट गुज्रने पो हो कि भन्ने चिन्ताले घेर्न थालेको छ । हाम्रै नेताका अदूरदर्शी निर्णयका कारण हामीले आज यस्तो तड्पाइ भोग्न बाध्य बन्नुपरेको हो ।

अर्को चिन्ताको विषय यो छ कि, हामीले त कुशल शासक र सक्षम शासनको अभावमा पिरोलिएर देशको चिन्ता लिँदै बाँच्न विवश बन्नुपरेको छ तर कम्तीमा हाम्रा सन्तान–दरसन्तान कसैले पनि खराब र लोभीपापी शासकको कुशासनबाट सिर्जना हुन पुगेको पीडा भोग्न नपरे हुन्थ्यो भन्ने पनि मानसिकता रहेको पाइन्छ । यदि हाम्रा नेताहरु उनीहरुका मुखले बोलेजसरी नै मातृभूमि नेपालको माया र सम्मान गर्थे भने अमेरिकासमक्ष यो एमसीसीको प्रस्ताव लिएर जाँदैनथे । देश बेचेर होस् कि देशको अस्मितालाई दाउमा राखेर होस्, उनीहरु रंगरसमा डुब्न पाए पुग्यो भन्ने मानसिकता प्रबल भएका कारण देशको ममता यिनीहरुको आत्मामा एक थोपो पनि जम्मा हुन नसकेकैले आजको यो एमसीसीको बन्धनको जकडाइमा पर्नुपरेको हो । यदि करोड नेपाली जनको एमसीसी पासविरुद्धको आवाजलाई सम्मान गर्ने हो भने एमसीसी परियोजना फिर्ता पठाएर आफूहरु त्यसबाट मुक्त हुनै पर्ने हुन्छ ।

एमसीसी पास विषयको बहसले आमनेपालीको हृदयलाई तड्पाएको छ, कोलाहलमा डुबाएको छ । त्यसमाथि अमेरिकाको धम्कीपूर्ण दुर्वचन एमसीसी पास नभईकनै सहनुपरेको छ । पैसाले मुढो बनाएको नेताको मानसिकतालाई त त्यो धम्कीपूर्ण दुर्वचनले केही असर नगर्ला तर आमनेपालीको कोमल र निर्दोष हृदयलाई भने छियाछिया पारिदिएको छ । अमेरिकाको त्यस्तो धम्कीपूर्ण भनाइ र दबाबपूर्ण व्यवहारका कारण एमसीसी हाम्रो देशको हितको लागि नभएर अमेरिकाले उसका विविध मिसन पूरा गर्नको लागि नेपाल र नेपालीलाई हतियार बनाउँदै छ । अमेरिकाको त्यो धम्कीपूर्ण भनाइभित्रको गुढ रहस्यलाई आँकलन गर्न सकिने हो भने ‘एमसीसी पास भइसकेपछि देखौला नि ! अहिले विरोध गर्ने भनाउँदाहरु’ भनी मानिसमा थोरै भए पनि क्रोधको भाव उमारी हामीलाई रित्तो पन्यु दिएर भए पनि भरी खड्कौंलोको खाद्यान्न आफूतिर तान्नका लागि उद्यत् भइरहेको छ । संसार खाएर एक गाँस बनाउने संसारको साम्राज्यवादी र दादा मानिएको देश अमेरिका सबै प्रकारका उपाय अपनाएरै भए पनि लक्ष्यसम्म पुग्ने दाउमा छ । यसै पनि हाम्रा नेताहरुले अमेरिकाको त्यो दबाब धान्न नसकेर एमसीसी सम्झौता पास गर्न/गराउन सक्ने प्रबल सम्भावना रहेको छ । एमसीसी एउटा सानो परियोजना पास गराउनको लागि अमेरिकाले दिने दबाबको भाषामा धेरैजसो रुखोपना लाग्ने खालको भाषा प्रयोग हुने गरेको छ । रुखो भाषा र दबाबको शैलीमा अभिव्यक्ति पस्कने अमेरिकासँग हाम्रा नेतालाई भय रहेको हो भने एमसीसी परियोजना जसरी भए पनि पास गराएर छोड्लान् । यस क्रममा मारिएलान् पनि कति त । यसले एउटा शान्तिपूर्ण विश्वको त कुरा नगरौँ, हामी अनेक धर्म–संस्कारमा सहिष्णुता अपनाउने र शान्तिपूर्ण तरिकाले जीवन जिउन खोज्नेहरुका लागि कति धेरै मात्रामा विचलन ल्याउने हो भन्ने कुराको चिन्ता पनि आमजनमानसमा भिजेको वा बिझेको पाइन्छ ।

एमसीसी परियोजना संसद्को दुई तिहाइ बहुमतबाट पारित भएर लागू भएपछिका दिनमा हाम्रा आस्थाका प्रतीक मठ, मन्दिर आदि ध्वस्त भएर तिनका जगमा गिर्जाघरहरु निर्माण भएका हुनेछन् । तिनले हामी देशभक्त भनाउँदा नेपाली जनको हृदय छियाछिया नभई कसरी रहन सक्ला ? आजका दिनमा सञ्चारका माध्यमबाट एमसीसी नेपालको हितमा छ, पास गर्नुपर्छ भनेर हचुवाका भरमा अभिव्यक्ति दिने काम भइरहेको छ । विषयवस्तुका बारेमा गहिरो बुझाइबेगर यति धेरै संवेदनशील विषयलाई लिएर सही वा गलत भनी छुट्याउने काम बुद्धिमानी हुँदै होइन । एक थोपो पनि कुरो नबुझेरै लोभी र पापी मिलेर गरेको यो सम्झौता अमेरिकी स्वार्थमा एकाकार भएर बनाएको परियोजना हो । यसबारे केही मात्रामा भए पनि बुझेका र सङ्लो हृदय भएकाहरुले हामीलाई धेरै मात्रामा सचेत गराउँदै छन् । यदि यो सचेतनाबाट विमुख भएर यो सम्झौता पास गर्न पुगियो भने यसको नतिजा निकै भयङ्कर बन्ने देखिन्छ । झिँजाले नै मुढो पोल्छ भनेजस्तै हामी र हाम्रो देशको हितको लागि एमसीसी परियोजना कुनै पनि हालतमा स्वीकार्य हुनै सक्दैन । यो गाईले भिरेको घाँडोजस्तो लाग्ने एमसीसी परियोजना अब संसद्को दुई तिहाइ बहुमतबाट पारित गराउने काममा भन्दा पनि कूटनीतिक तबरले फिर्ता पठाउने नीति अपनाउनु एमसीसीको फन्दाबाट उम्कने सही र उपयुक्त निकास हो । अबका दिनमा एमसीसी पासकै निहुँमा नेपाली जनतालाई गाली गरेर पहिले नै त्रास र आतङ्कले रोएको मनमा अझै नुनचुक दल्ने काम नगरेकै राम्रो हो ।

प्रतिक्रिया दिनुहोस्