देउवालाई ओलीको सन्देश : सरकार ढाल्दैनौं, अघि बढ्नुस्


काठमाडौं ।

एमसीसी सम्झौतालाई जसरी पनि पास गराउन बल गरिरहेका प्रधानमन्त्री शेरबहादुर देउवाले पछिल्लो केही दिन सक्रियता बढाए । गठबन्धनका मुख्य दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका अध्यक्षसँगको छलफलसँगै उनले प्रमुख प्रतिपक्षी दलका अध्यक्ष केपी शर्मा ओलीसँग पनि कुराकानीलाई अघि बढाए ।

एमसीसी पास गर्न देउवाले कतै ओलीको साथ लिने त होइन भन्ने माओवादी र एकीकृत समाजवादीको आशंकाबीच देउवाले दूतमार्फत वा आफैं पुगेर प्रयास जारी राखेका छन्।

केही दिन अघि बालकोट पुगेका देउवाले ओलीसँग एमसीसी र सरकारको बारेमा चासो राखेका थिए । बालकोट निकट स्रोतका अनुसार देउवाले ओलीसँग कतै चुनावी तालमेल माओवादी वा नेकपा एससँग हुने त होइन भन्दै आशंका गरेका थिए । ओलीले यो चुनावमा कोहीसँग गठबन्धन नहुने आश्वस्त पार्दै सरकार नढल्नेमा देउवालाई विश्वस्त तुल्याए ।

‘प्रधानमन्त्रीको सरकार गिर्छ कि भन्ने आशंका रहेछ’ बालकोट निकट स्रोतले भन्यो, ‘ अध्यक्षज्यूले गठबन्धन नहुने र सरकार नढल्ने कुरामा आश्वस्त पार्नु भयो ।’ देउवासँगको भेटमा ओलीले सरकारलाई दुई तिहाइ नजिक पुर्‍याउने जिम्मा आफूहरुको भएकोमा आश्वस्त हुन आग्रह गरेको थियो ।

एमाले, लोसपा र जसपाको एउटा पक्षलाई लिएर सरकारलाई दुई तिहाइ नजिक पुर्‍याउने ओलीको भनाइ थियो । एमसीसीका विषयमा ओली प्रष्ट जवाफ नदिए पनि विवेक पूर्‍याएर निर्णय गरेर अघि बढ्न प्रधानमन्त्रीलाई सुझाव दिएको छ ।

न्युज कारखाना

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।