भारतले मनायो सेना दिवस



न्युज अफ नेपाल, काठमाडौं ।

भारतीय सेनाले आफ्नो ७४ औं सेना दिवस मनाएको छ । सेना दिवसको अवसरमा काठमाडौस्थित भारतीय राजदूतावसको रक्षा प्रभागले कार्यक्रमको आयोजना गरेको थियो ।

सन् १९४९ जनवरी १५ तारिखका दिन लेफ्टिनेन्ट जनरल पछि फिल्ड मार्शल के.एम. करियप्पाले पहिलो भारतीय कमाण्डर इन चिफको रुपमा भारतीय सेनाको कमाण्ड सम्हालेको सम्मानमा प्रत्येक वर्ष भारतीय सेना दिवस मनाईन्छ । कार्यक्रममा नेपालका प्रधान सेनापति तथा भारतीय सेनाका मानार्थ महारथी प्रसिद्ध प्रबल जनसेवा जनरल प्रभुराम शर्मा कार्यक्रमको प्रमुख अतिथि थिए ।

नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले दुई देशलाई भ्रातृवत् सम्बन्धमा जोड्ने भारतीय सेना र नेपाली सेनाबीचको गहिरो ऐतिहासिक साइनोको सम्झना गरे । भारतीय सेनामा रही गोर्खा सैनिकले गरेको निःस्वार्थ सेवा र बलिदानप्रति कृतज्ञता प्रकट गर्दै उनले भारतीय सेनाका पेन्सनवाला र नेपालमा रहेका तिनका परिवारको कल्याणका लागि भारतले काम गर्ने प्रतिबद्धता दोहोर्‍याए । राजदूत क्वात्राले सन् २०२१ डिसेम्बर आठमा हवाई दुर्घटनामा परि श्रीमती मधुलिका रावत र अन्य ११ जना सैनिकसहित दिवंगत भएका जनरल विपिन रावतप्रति श्रद्धाञ्जलि अर्पण गरे ।

प्रसिद्ध प्रबल जनसेवा जनरल प्रभुराम शर्माले भारतका सेनाध्यक्ष एवम नेपाली सेनाका मानार्थ महारथी जनरल एमएम नरवणेलाई भारतको ७४ औं सेना दिवसको अवसरमा शुभकामना व्यक्त गरे । उनले दुई सेनाबीचको गहिरो सम्बन्ध र लामो समयदेखिको सहकार्यबारे चर्चा गर्दै कोभिड–१९ महामारी विरुद्घको लडाइँमा भारतीय सेनाले नेपाली सेनालाई गरेको सहयोग र नेपाली सेनाको आधुनिकिकरणमा भारतीय सेनाले खेलेको भूमिकाको प्रशंसा गरे। सोही अवसरमा भारतीय सेनाका वीरता पुरस्कार विजेता गोर्खा सैनिकलाई पनि प्रधान सेनापति शर्माले सम्मान गरे ।

प्रतिक्रिया दिनुहोस्