प्रहरीको सानदार शुरुआत



काठमाडौं ।

नेपाल प्रहरी क्लबको महिला टिमले लामा टेन्डी शेर्पा स्मृति खुला बास्केटबल प्रतियोगितामा सफल सुरुआत गरेको छ । प्रहरीले मंगलबार कीर्तिपुर नगरपालिकालाई ७८–२३ ले सहजै पराजित गर्यो । प्रहरीकी समिक्षा न्यौपानेले ११ अंक जोडिन् । कीर्तिपुरकी झरना बज्राचार्यले १३ स्कोर गरिन् । प्रहरीले ३२ अंक जोड्दा कीर्तिपुरले पहिलो अंक जोडेको थियो । चारै क्वार्टरको नतिजा आफ्नो पक्षमा पारेको प्रहरीले क्रमशः २१–०, २४–६, १८–१० र १५–७ अंकले अग्रता लिएको थियो ।

नेपाल बास्केटबल संघको आयोजनामा भइरहेको प्रतियोगिताको पुरुषमा टाइम्स बास्केटबल र गोल्डेनगेटले जित निकाले । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा टाइम्सले जेभियर इन्टरनेसनललाई ११७–६४ ले हरायो । टाइम्सका विजय बुर्जाले २४ तथा जेभियरका राहुल नायकले १४ स्कोर गरे । दोश्रो क्वार्टरमा १३–२० ले पछि परेको टाइम्स बा“की क्वार्टरमा भने दोब्बरभन्दा बढी अंकले अगाडि रहँदै फराकिलो अन्तरको जित हात पार्न सफल भयो । टाइम्सले पहिलोमा ३५–१६, तेश्रोमा ३१–१५ र चौथोमा ३८–१३ को अग्रता लिएको थियो ।

प्रतिस्पर्धात्मक अन्तिम खेलमा गोल्डेनगेटले एनसीसीएसमाथि ७७–७४ को रोमाञ्चक जित रच्यो । गोल्डेनगेटका अभिषेक सिंहले ३२ अंक बटुले । एनसीसीएसका सौगात सिंहले १८ अंक जोडे ।अन्तिम क्वार्टरमा लिएको २६–१७ को अग्रता नै गोल्डेनगेटको जितको आधार बन्यो । पहिलोमा १८–२१ र दोश्रोमा १३–१६ ले पछि परेको गोल्डेनगेट तेश्रोमा २०–२० को बराबरीमा रोकिएको थियो ।

प्रतिक्रिया दिनुहोस्