राजेशपायलसँग रुक्सनाको चोरी भो (भिडियोसहित)



टेलिभिजन गायन रियालिटी शो भ्वाइस अफ किड्सको सेमिफाइनलसम्म पुग्न सफल बालगायिका रुक्सना लिम्बूसँग गायक राजेश पायल राईले रेकर्ड गराएको चोरी भो बोलको युगल गीतको स्टुडियो भिडियो सार्वजनिक भएको छ।

गायक राईले पेमा देचेन तामाङपछि आफ्नो वाचाअनुरूप रुक्सानासँग गाएको गीतमा उनकै संगीत तथा कवि एवं गीतकार राजन मुकारुङको शब्द रचना रहेको छ। यो गीत यसअघि यही टिमले द भ्वाइसकी मेलिना मैनालीसँग रेकर्ड गरी तयार गरिएको चर्चित गीत चोरी भोको दोस्रो भागको रूपमा तयार गरिएको हो।

स्टुडियो किङमा रेकर्ड गरिएको गीत राजु कार्कीको संगीत संयोजनमा तयार भएको हो। गायक राजेश पायल राईको युट्युब च्यानलबाट रिलिज गरिएको गीत कतारसँगै नेपालमा पनि ट्रेन्डिङमा उक्लिरहेको छ। आफूले गीत ट्रेन्डिङ र भ्युजको लागि नभई राम्रा प्रतिभा र राम्रा गीत–संगीत ल्याउने सानो प्रयास मात्र गरिरहेको जनाउँदै गायक तथा संगीतकार राईले स्रोता–दर्शकले गीत–संगीत मन पराएपछि आफैँ भ्युज र ट्रेन्डिङको भीडमा पस्ने बताए।

उनले आफ्नो राजेश पायल राई म्युजिक एकेडेमीको निर्माणमा यस्तै अन्य प्रतिभा ल्याउने दृढतासमेत व्यक्त गरेका छन्। उनले रुक्सना लिम्बूसँगै अरू गीत पनि ल्याउने र भ्वाइस अफ किड्सको फाइनल राउन्डमा पुगेकी अर्की गायिका मिन्छामा राईसँग पनि नयाँ गीत ल्याउने तयारी रहेको बताए।

प्रतिक्रिया दिनुहोस्